ट्याक्सी चालकको आँखा फुटाएर लुटपाट !

प्रकाशित मिति:

काठमाडौँ, ४ पुस । ललितपुरमा मध्यराति ट्याक्सी चालकको आँखा फुटाएर लुटपाट गरिएको छ । यात्रु बनेर चढेका दुई लुटेराले छुरा हानेर ट्याक्सी चालकलाई गम्भीर घाइते बनाइ मोबाइल र नगद लुटपाट गरेका हुन् । बा १ ज ६१५७ नम्बरको ट्याक्सीका चालक ४२ वर्षीय डम्बर खड्कालाई मंगलबार राति लुटेराहरुले छुरा प्रहार गर्दा उनको देब्रे आँखा फुटेको छ । ललितपुरस्थित पुल्चोक सेन्ट जेभियर्स स्कुलनजिक दमकल भन्ने स्थानबाट बिरामी बनेर काठमाडौंको शंखमुल जाने भनी ट्याक्सी चढेका दुई व्यक्तिले बालकुमारी पुलबाट करिडोरको पाँच सय मिटर पश्चिम पुगेपछि चालक खड्कामाथि अचानक धारिलो हतियार प्रहार गरेका थिए ।

अन्दाजी २५ वर्षीय कालो वर्णका युवक र ३५ वर्षीय गोरो वर्णका हल्का दारी पालेका व्यक्तिले आफूमाथि छुरा प्रहार गरी लुटपाट गरेको पीडित चालकले बताएका छन् । उनीहरूले आफूसँग रहेको ६ हजार रुपैयाँ र एक थान मोबाइल सेट लुटेर लगेको उनले बताए । घाइते खड्काको पाटन अस्पतालपछि थप उपचारका लागि बुधबार बिहान वीर अस्पतालको ट्रमा सेन्टरमा लगिएको छ । घटनामा संलग्नको पहिचान भइसकेको छैन । विभिन्न टेक्निकको प्रयोग गरेर उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।