काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले संसदमा छलफल गरेर एमसीसी पारित गर्नुपर्ने जनाएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी मुलुकको हितमा रहेको भन्दै यसलाई सदनमा छलफल गराएर पारित गर्नुपर्ने जनाएको हो ।केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले एमसीसी मुलुकको हितमा रहेको भन्दै यसलाई पारित गर्नुपर्ने धारणा राखेको प्रवक्ता डाक्टर प्रकाशशरण महत्तले जानकारी दिए । महतले एमसीसीलाई धेरै नलम्ब्याई संसदबाटै टुंग्याउनुपर्ने पनि बताए ।
एमसीसीलाई सदनमा प्रवेश गराएर छलफल गरिए अहिले जनतामा भ्रम र अन्यौल कम हुने उनले बताए । बैठकमा स्थानीय निकायको निर्वाचनमा कांग्रेसलाई शसक्त ढंगले कसरी प्रस्तुत गर्ने भन्ने बिषय र भातृ तथा शुभेच्छुकको अधिवेशनका बिषयपनि छलफल भएको उनले बताए ।विधानसम्मत सबै संगठनलाई प्रभावकारी बनाउने उनले बताए । प्रवक्ता महत्तले गठबन्धनको विषयमा अहिल्यै निर्णय गर्ने बेला नभएको जिकिर गरे । उनले १६ जिल्लाको अधिवेशन छिटै गर्ने तयारी भएको जानकारी दिए ।त्यस्तै कांग्रेस नेता शंशांक कोइरालाले बैठकमा एमसीसीका बारेमा पूर्व अर्थमन्त्री डा रामशरण महत्तले बिस्तृतमा जानकारी गराए, र यसलाई छिटो पारित गर्नुपर्नेमा सवैको जोड रहेको बताए ।
एमसीसी नेपालको लागि राम्रो भएको र कुनै सैन्य रणनीति नभएको बिषय जनतालाई बुझाउनुपर्ने उनको भनाइ छ । त्यस्तै कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने आफ्नो धारणा रहेको बताए ।उनले अहिले आफ्नो अस्तित्व जोगाउनुपर्ने र कोही अर्को पार्टीसँग नमिली ९निर्वाचनमा० जानुपर्ने बताएको जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने नेताहरुले जनाएका छन् ।