सुने प्रेम दिवस लम्बिएर सप्ताह भएछ।
प्रपोज डे, चकलेट डे अनि अरु के के रैछ॥
राम्रो हो प्रेमिल मनहरु तन्किएर लामो भाको।
नबिर्सिउन आउने साल गतसाल कसम खाको॥
अनुभव नहुनेले “प्रपोज”त गरुन।
प्रपोजल पास भइसकेकाले,
अर्को प्रोजेक्टमा नाफा देखेर
फेरी अर्को निवेदन फाराम नभरुन॥
किनुन “चक्लेट” बाडुन स्वाद मुख सराउने गरी।
घरको पुष्टकारी कुहाउनेहरुले,
बजारमा रंगिन प्लाष्टिकले छोपिएका
चक्लेटहरु नछरुन बाटाभरी॥
ओछ्यान साझा नहुनेले दिए दिउन “टेडी”
साझे बिस्तारामा आफु मात्रै,
मध्यदिन सम्म सुत्नेहरुले
उठेसी कमसेकम मिलाएर हिडुन बेडी॥
दैनिकी आ-आफ्नै बिताउनेले
जेसुकै “प्रमिस”गरुन।
चुल्हो एउटै हुनेहरुले
नाफा-घाटाको – हिसाब नगरी
मनैले अन्धो माया मुटुभरी भरुन॥
सिनेमाहल र होटेलमा भेटनेले “हग” गरे गरुन।
घरको दैलो, भिरालो खरबारी र
बाह्रघन्टे डिउटीमा भेटनेले
रिगंटा लागी लडन लाग्दा
अप्ठ्यारो नमानी आफ्नै ॲगालोमा भरुन॥
भावनामा प्रेमको महशुस नहुदा “किस” गरे गरुन।
चोखो प्रेम युगान्त साच्नेहरुले,
देख भेट हुदा बोल्ने हिम्मत नगरेपनि
नजर नपाउदां कमसेकम मिस गरुन॥
बदलियो समय, फेरियो जमाना
लौ ज-जसले जे गर्नी गरुन।
प्रणय गर्नैहरु सबै विश्वासमा परुन,
अवसर नपाउनेहरुले पनि,
चुडिएको मन मायाले सिलाएर प्रेम भरुन॥
“ह्याप्पी फेब्रुवरी १४”
राधा अर्याल
वाल्लिङ स्याङ्जा, हाल क्यानाडा