खेलकुदमा उपलब्धी हासिल गर्न खेलाडी छनोटमा विशेष ध्यान दिनुपर्ने मुख्यमन्त्री पोखरेलको भनाई

३ श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले खेलकुदमा उपलब्धी हासिल गर्न खेलाडी छनोटमा विशेष ध्यान दिनुपर्ने औंल्याएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रदेशस्तरीय अन्तरक्रिया र कार्यशालाको बिहीबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरलले अहिलेसम्म पदाधिकारी निकटका मान्छेका छोराछोरीलाई छनोट गर्ने परिपाटीले नेपालको फुटबल खेल पछाडि परेको बताए ।फुटबल खेलाडी छनोट गर्दा स्टामिना राम्रो भएको, कुद्न सक्ने र गोल हान्ने कौशल (कला) भएका खेलाडी छनोट गर्न सकिएन भने राज्यले जतिसुकै लगानी गरेपनि उपलब्धी नहुने मुख्यमन्त्री पोखरेलले स्पष्ट पारे ।

खेलाडी उत्पादन गर्ने स्पष्ट योजना बनाएर अघि बढ्न सुझाव दिँदै मुख्यमन्त्री पोखरेलले स्थानीय, प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले विगतमा संस्थाभित्रकै विवाद, अपारदर्शिता, अनियमितता जस्ता कारणले नेपालको फुटबल क्षेत्र नाजुक बनेको बताए ।प्रदेश ५ मा प्रदेशस्तरीय टेक्निकल सेन्टरका लागि जग्गा उपलब्ध गराइदिन शेर्पाले मुख्यमन्त्रीसंग माग गरे ।अन्तरक्रियामा एन्फाका उपाध्यक्ष कृष्ण थापा,पंकजविक्रम नेम्बाङ,प्रवक्ता किरण राई लगायतले बोल्दै राजनीतिज्ञहरुले खेलकुदलाई राम्रोसंग नबुझ्दा समग्र खेलकुद क्षेत्र पछाडि परेको अवस्थामा प्रदेश ५ सरकार र मुख्यमन्त्रीले खेलकुद क्षेत्रलाई दिएको प्राथमिकता दिई पर्याप्त वजेट छुट्टाएको देखेर आफूहरु प्रभावित भएको भन्दै खुलेर प्रशंसा गरे ।उनीहरुले प्रदेश ५ बाट अन्य प्रदेश र संघीय सरकारले सिक्नुपर्ने धारणा राखे । कार्यशालामा प्रदेश ५,६र ७ का जिल्ला फुटबल संघका पदाधिकारीहरुको सहभागिता रहेको छ ।एन्फाको यही साउन ३० गते हुन लागेको विशेष साधारणसभालाई लक्षित गरी सातै प्रदेशलाई समेटेर कार्यशाला गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया