दोस्रो मिडिया कप फुटसलको टाइसिट सार्वजनिक

प्रकाशित मिति:

बुटवल । रुपन्देहीका सञ्चारकर्मीहरु बीच आगामी फागुन २० गते हुने मिडिया कप फुटसलको टाइसिट मँगलबार सार्वजनिक गरिएको छ । ग्लोबल आवाजद्वारा आयोजना गर्न लागिएको दोस्रो ‘टेनस्टिल्स मिडिया कप फुटसल–२०७८’ को सम्पूर्ण तयारी पूरा गरी टाइसिट सार्वजनिक गरिएको हो ।

रुपन्देहीको तिलोत्तमा भलवारी स्थित सनराई फुटसल एरिनामा जिल्लाका विभिन्न १४ वटा सञ्चारगृहमा आवद्ध सञ्चारकर्मीहरु खेलमा सहभागी हुने भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको उपस्थितिमा प्रतियोगिताका निर्णायक समिति संयोजक यमलाल भुसाल, सदस्यहरु निदेश पाण्डे, विश्वास ढकाल लगाएतको रोहबरमा गोलापर्थाद्वारा प्रतियोगिताको समय तालिका (टाइसिट) तय गरिएको हो । प्रतियोगितालाई मैत्रीपूर्ण तथा निस्पक्ष बनाउनका लागि निर्णायक समितिहरुबाट छानविन तथा रुजू गरी छनोट भएका समूहहरु बीच प्रतिष्पर्धा गराउने गरी टाइसिट निर्धारण गरिएको छ ।

प्रतियोगितामार्फत जिल्लाका सबै सञ्चारकर्मीहरुलाई सहभागी गराउने गरी मैत्रीपूर्ण, आपसी सद्भाव तथा सम्बध कायम गर्ने उद्देश्य राखिएको ग्लोबल आवाजका प्रबन्ध सम्पादक गौतम भुसालले बताए । जीतको मानसिकताभन्दा पनि मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने मानसिकता विकासका लागि प्रतियोगिताले सहयोग गर्ने अपेक्षा राखिएको सम्पादक एन.बी. कंडेलले बताए । प्रतियोगिताको विजेताले २५ हजार नगदसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार ५ सय नगद राशीले सम्मान गर्नुका साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपर र उत्कृष्ट फरवार्डरलाई समान २ हजार ५ सय नगदराशीले सम्मान गरिने खेल संयोजक डि.बी. सुस्लिङले जानकारी दिए । टेनस्टिल्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा हाईलाइफ सह प्रायोजक तथा बैंकिङ पाट्नरका रुपमा साइन रेसुङ्गा बैंक लिमिटेड रहेको छ । बुटडल टुडे दैनिक र राज्य टेलिभिजन मिडिया पाटर््नरका रुपमा रहेका छन् । रुपन्देहीका महिला सञ्चारकर्मीहरु बीच समेत मैत्रीपूर्ण फुटसल हुने प्रतियोगिताको राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने भएको छ ।