नेकपामा मन्त्रिपरिषद् तत्काल पुनर्गठन गर्न माग

प्रकाशित मिति:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताले मन्त्रिपरिषद् तत्काल पुनर्गठन गर्न माग गरेका छन् । पार्टी मुख्यालय शनिबारदेखि जारी स्थायी समिति बैठकको बुधबार बोल्ने स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई केही मन्त्रीहरुको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै मन्त्रिपरिषद पुनर्गठनको माग गरेका हुन् । नेकपाका नेता रघुजी पन्तले मन्त्रिपरिषद् हेरफेरको माग गर्दै सरकारले जनमतको कदर गर्न नकेको आरोप लगाएका छन् । उनले भनेका छन् सरकारको कामको समीक्षा सरकार स्वयंले गर्नुपर्यो । सरकार गतिशीलता देखा परेन । प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर मन्त्री हेरफेर गर्नुपर्यो ।”

उनले पार्टीमा काम गर्न सबल, सक्षमहरू एकसे एक रहेको बताउँदै असक्षम, विवादमा परेकालाई मन्त्रिमण्डलमा राखिरहनु नहुनेमा जोड दिए ।  वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने नेता पन्तले नेपालले पनि आत्मआलोचना गर्नुपर्ने माग गरेका छन् । उनले एसिया प्रशान्त सम्मेलनबारे नेतृत्व आत्मआलोचित हुनुपर्ने बताएका हुन् । उनले अध्यक्ष ओली र नेपालले आत्मआलोचना गर्न माग गरेका हुन् । नेता पन्तले प्रदेशका इन्चार्ज तोकिएका दुई मुख्यमन्त्रीलाई इन्चार्जबाट हटाउन माग गर्दै एक व्यक्ति एक पद को व्यवहारिक कार्यान्वयनमा जोड दिए ।  बुधबारको बैठकमा स्थायी कमिटी सदस्य पन्तसहित देवप्रसाद गुरुङ, रघुवीर महासेठ भीमप्रसाद आचार्य, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरे ।

  गत शनिबार शुरु भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा बुधबारसम्म कुल २८ जनाले आफ्नो विचार राखेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड”ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेको हो ।  त्यसैगरी नेता वामदेव गौतमले काउन्टर दिन दिएको राजनीतिक प्रतिवेदनप्रति पनि अधिकांश सदस्यहरुको चासो बढेको छ ।  प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् ।  बैठक बिहीबार बिहान ८ बजे पुनः बस्दैछ  बैठक केही दिन लम्बिने नेकपा सचिवालयले जनाएको छ ।