डा केसी बचाऔं अभियान’ भैरहवामा सुरु

प्रकाशित मिति:

जुम्लामा अनसनरत डा.गोविन्द केसीको समर्थनमा ‘डा.गोविन्द केसी बचाऔं अभियान’ सिद्धार्थनगर रुपन्देहीले भैरहवामा अभियान सुरु गरेको छ ।डा.गोविन्द केसीका माग पुरा गर, डा.गोविन्द केसीको प्राण रक्षा गर भन्ने नाराका साथ अभियान सुरु गरिएको अभियान्ता सञ्जय सिंह केसीले बताए । चिकित्सा क्षेत्रको सुधारको लागि अनसन बसेका डा.केसीको मागप्रति सरकार गम्भीर नभएकोले आफुहरुले अभियान चलाएको उनले बताए ।भैरहवामा क्रियाशिल विभिन्न राजनीतिक दल, समाजसेवी तथा सामाजिक अभियान्ताहरुले संयुक्त रुपमा डा. गोविन्द केसी बचाऔं अभियान सुरु गरेको बिहीबार बिहान भैरहवामा पत्रकार सम्मेलनकोे आयोजना गरी जानकारी दिएका छन ।अभियान अन्तर्गत बिहीबार बेलुका ५ बजे भैरहवाको विद्रोही चोकमा भेला भएर ¥याली निकाली मिलनचोक पुगेर कोणसभामा परिणत हुने नयाँ शक्ति पार्टी नेपाल रुपन्देहीका इञ्जार्ज देवेन्द्र पाण्डे सागरले बताए । कोणसभाको समापन पश्चात अन्य कार्यक्रमहरु तय गरेर जानकारी गराइने उनले बताए ।

पत्रकार सम्मेलनमा बौल्दै राजनीतिज्ञ विनोद कुमार उपाध्यायले डा.केसीको माग सम्बोधन हुनुपर्ने बताए । उनले डा.केसी मृत्युको शैयामा छटपटाइरहेको बेला सरकार उक्त मागप्रति संवेदनशिल नहुनु दुःखद भएको बताए ।राप्रपा(प्रजातान्त्रिक) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले माथेमा आयोगको प्रतिवेदन पूर्ण रुपमा कार्यान्यवयन हुनुपर्ने बताए ।त्यस्तै सामाजिक अभियान्ता पाथ्रिवेन्द्र उपाध्यायले अन्य क्षेत्रमा चिकित्सा क्षेत्र फरक रहेकोले राजधानीमा मात्र मेडिकल कलेज केन्द्रीत गर्न नहुने बताए । समाजसेवी मिलन बस्नेतले डा.केसी बचाऔं अभियान अन्तर्गत आयोजना हुने कार्यक्रममा सम्पूर्ण नागरिकलाई सहभागि हुन आग्रह गरे ।