तिलोत्तमाको सुपौलीमा ब्याडमिन्टन प्रतियोगिता

प्रकाशित मिति:

बुटवल। रुपन्देहीको तिलोत्तमा–१४ सुपौलीमा महेश राना स्मृति मेन्स डबल तथा भेट्रान्स खुल्ला ब्याण्डमिन्टन प्रतियोगिता शुरु भएको छ । लुम्बिनी स्पोर्टस् क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा मेन्स डबलतर्फ ३२ र भेट्रान्स खुल्लातर्फ १८ गरी ५० टिमको सहभागिता रहेको छ । लुम्बिनी स्पोर्टस् क्लबको आफ्नै नव निर्मित कभर्ड हलमा सञ्चालित प्रतियोगिताको शनिबार तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै नगर प्रमुख घिमिरेले राज्यले गर्नुपर्ने खेल पुर्वाधार निर्माणको काम क्लबले आफै रकम जुटाएर कभर्ड हल बनाउनु र प्रतियोगिताहरु आयोजना गर्नु उदाहरणीय र सराहनीय भएको बताए ।उनले कभर्ड हलका बांकी काम पूरा गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।लुम्बिनी स्पोर्टस् क्लबका अध्यक्ष पर्तबहादुर पुनले स्वास्थ्य र राष्ट्रका लागि खेलकुद नारालाई आत्मसात गर्दै क्लबको पहल समेत लगानीमा करिब एक करोड रुपैया लागतमा कभर्ड हल बनाइएको बताए ।

कभर्ड हल बनाउन संघीय सरकारको संसद विकास कोषबाट ३० लाख, तिलोत्तमा नगरपालिकाबाट १५ लाख र नगर खेलकुद विकास समितिबाट ८ लाख रुपैयां वजेट आएको र बांकी रकम क्लबका पदाधिकारी र सदस्यहरुले जुटाएको क्लबका उपाध्यक्ष राजेन्द्र गुरुङले बताए ।मन्दिरको गुठीको ४ कठ्ठामा भवनसहित कूल ६ कठ्ठा क्षेत्रफलमा कभर्ड ह लबनेको क्लबका सल्लाहकार अशोक पुनले बताए । मेन्स डबलका विजेतालाई क्रमशः २० हजार,१० हजार र ५ हजार तथा भेट्रान्सतर्फका विजेतालाई क्रमशः १० हजार,५ हजार र ३ हजार रुपैयां नगद पुरस्कार प्रदान गरिने क्लबका सचिव विष्णु दगामीले बताए ।क्लबले खेलकुदसंगै सामाजिक कामहरु पनि गर्दै आएको क्लबका लेखा समिति संयोजक कमल थापाले बताए ।