सांगीतिक पिटी देशभरका विद्यालयमा विस्तार हुंदै

प्रकाशित मिति:

बुटवल । लुम्बिनी प्रदेशभरि लोकप्रिय बन्दै गएको सांगीतिक पिटी कार्यक्रमलाई अनुशरण गर्ने र आफ्नो विद्यालयमा पनि लागु गराउने विद्यालयहरुको संख्या बढ्दै गएको छ । साढे दुई सय भन्दा बढि विद्यालयमा लागु भइसकेको सांगीतिक पिटी पछिल्लो समय रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विस्तार भैरहेको छ । लुम्बिनी प्रदेश सरकारका शिक्षा तथा खेलकुद मन्त्री वसीउद्दिन खाँनको निर्वाचन क्षेत्र पनि रहेको मर्चवार आदर्श मा.वि.ले पनि सांगीतिक पिटीलाई निरन्तरता दिएको छ ।

कोटहिमाई गाउँपालिका ५ मा रहेको यो विद्यालयमा बिहान ९.५५ मा पहिलो घण्टी बजेसंगै ५ मिनेटभित्र सबै विद्यार्थी आ–आफ्ना कक्षा कोठामा पुग्छन् । १० बजे दोस्रो घण्टी बज्छ । शिक्षकले कक्षा कोठामा विद्यार्थीको हाजिरी गरेर सक्छन् । १०.३ मिनेटमा तेस्रो घण्टी बज्छ । घण्टीसँगै माइकबाट संगीत पनि घन्किन थाल्छ । संगीतको धुनसँगै कक्षा कोठाबाट हुलका हुल विद्यार्थीहरु लेफ्ट राइटको तालमा लाइनवद्ध र अनुशासित ढंगमा विद्यालयको मैदानमा आइपुग्छन् । कक्षा शिक्षकहरुले आफ्नो कक्षाको पंक्ति (लाइन) मिलाउँछन् र आफूहरु लाइनको पछाडि उभिन्छन् । विद्यालयका खेलकुद शिक्षकले थरिथरिका वाद्यवादनको संगीतसँगै १० वटा पिटी खेलाउँछन् । देशभक्तिपूर्ण गीत र संगीतको मीठो धुनमा विद्यालयका कक्षा २ देखि १० सम्मका विद्यार्थीले फुर्तिका साथ ५ मिनेट बढी पिटी खेल्छन् । सांगीतिक पिटीले विद्यालयमा आउने वित्तिकै रमाइलो वातावरण, शरीर फुर्तिलो र दिनभर पढाइप्रति रुचि हुने गरेको विद्यार्थीहरुको अनुभव छ ।

विद्यार्थीको पिटी सैनिक र प्रहरीको ठूलो पल्टनको झल्को दिने गरी अनुशासित, लयवद्ध र मिलेको हुन्छ । पिटी सकिएपछि राष्ट्रियगान बज्छ । विद्यार्थी र शिक्षकले पनि अनिवार्य गाउँछन् । प्रधानाध्यापकले त्यस दिन कुनै कार्यक्रम भए जानकारी गराउँछन् । १२ मिनेट भित्र यी सबै क्रियाकलाप सकिन्छ । र विद्यार्थीहरु फेरि पंक्तिवद्ध भएर कक्षा कोठामा पुग्छन् । कुनै एउटा कक्षाका विद्यार्थीले विद्यालय परिसर सरसफाइ गर्छन् र उनीहरु पनि कक्षामा पुग्छन् । अनि संगीतको धुन बन्द हुन्छ । प्रार्थना समयमा पुग्ने जो कोही संगीत सहित पिटी खेलाएको देखेर रोमाञ्चित हुन्छन् ।

विद्यालयमा सांगितिक पिटिलाई शुरु गरेपछि विद्यार्थीहरु थप अनुशासित र पढाईप्रति जागरुक र उत्साहित भएका मर्चवार आदर्श मा.वि.का प्रधानाध्यापक धनञ्जय कुमार त्रिपाठीले बताए । सांगितिक पिटिलाई निरन्तरता दिएसंगै घरबाट फरक–फरक मुड र वातावरणबाट आउने विद्यार्थीहरु संगीतसहितको पिटीले सबैलाई खुशी र उर्जाशील बनाउने सांगीतिक पिटीका अभियान्ता हरिश वलीले बताए ।पाठ्यक्रममै पिटी समावेश भए पनि अधिकांश विद्यालयले नियमित खेलाउँदैनन् । संगीतसहितको पिटीलाई प्रदेश सरकारले अभियानकै रुपमा सञ्चालन गर्ने प्रदेशका शिक्षा मन्त्री वसीउद्दिन खानले बताए । कार्यक्रम राम्रो भएकोले प्रदेशका सबै विद्यालयहरुमा सांगीतिक पिटीलाई लागु गर्नुपर्ने मन्त्री खानले बताए ।

मानसिक रुपमा सांगीतिक पिटीका लागि विद्यार्थीलाई सिकाएर छुट्टै ब्याण्ड तयार गरिएको छ । शिक्षकको अनुपस्थितिमा विद्यार्थीले नै पिटी खेलाउन सक्ने छन् । मर्चवार आदर्श माविमा भएको तीन दिने सांगितीक पिटी कोटहीमाई गाउपालिकाको आयोजना र विद्यालयको व्यवस्थापनमा भएको हो ।
उक्त कार्यक्रममा गाउपालिका अध्यक्ष चन्द्रभुषण यादव,उपप्रमुख भानमति यादव,प्रमुख प्रशासकीय अधिकृत अनन्त मरासिनीले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अजय सिंह र राजन चौरसियाले गरेका थिए ।