यातायात मजदूर तथा व्यवसायी भलाई कोषको मणिग्राममा सेवा केन्द्र स्थापना

प्रकाशित मिति:

यातायात मजदूर तथा व्यवसायी भलाई कोषले रुपन्देहीको मणिग्राममा सेवा केन्द्र स्थापना गरेको छ । भलाई कोषको सेवाकेन्द्र सहित शुभयात्रा टुर्स एण्ड ट्राभल्स र लुम्बिनी जनरल इन्स्योरेन्स मणिग्राम शाखाको बिहीबार एक साथ उदघाटन गरिएको छ ।

तीन कार्यालयको एकसाथ उदघाटन गर्दै भलाई कोषका अध्यक्ष दिनेश फूल्लेलले भलाई कोषले मजदूर तथा व्यवसायीको हित मात्रै नहेरी दुर्घटना न्युनीकरणमा पनि जनचेतना जगाउने काम गरेको बताए । उनले तिलोत्तमा नगरपालिकामा स्थापना भएको सेवा केन्द्रले यस क्षेत्रका यातायात व्यवसायी तथा मजदूरहरुले फाइदा लिन सक्ने उल्लेख गर्दै अव तिलोत्तमाका सबै विद्यालयमा ट्राफिक शिक्षा जरुरी देखिएको बताए ।तिलोत्तमा वडा नम्बर पाँचका अध्यक्ष चेतनारायण भण्डारीले दुर्घटना पछि व्यवसायी तथा मजदूरहरुको हितमा मात्र काम गर्नुभन्दा पनि दुर्घटना न्युनीकरणतर्फ ध्यान दिन आग्रह गरे । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रदेश नम्बर पाँचका प्रमुख विश्वदिप नेपालले बीमा क्षेत्र र यातायात एक अर्काका परिपुरक भएको उल्लेख गर्दै मणिग्राममा स्थापना भएका तीनवटै कार्यालले यस क्षेत्रका सेवाग्राहीलाई सेवा लिन सहज हुने बताए । कार्यक्रम शुभयात्रा टुर्स एण्ड ट्राभल्सका सञ्चालक कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।