गोपाल अधिकारीको उद्घोषण कला सम्बन्धि पुस्तक प्रकाशित

प्रकाशित मिति:

कृष्ण पाण्डे  वुटवल, ५ पुष । रुपन्देही क्षेत्रमा स्टेज उद्घोषणका लागि परिचित नाम गोपाल अधिकारीले आफ्नो अनुभवलाई समेटेर उद्घोषण कला सम्बन्धि पुस्तक प्रकाशित गरेका छन् । रुपन्देही तथा आसपासको क्षेत्रमा विगत ३ दशकदेखि अविच्छिन्न उद्घोषण कलामा लागेर निकै ख्याति कमाएका अधिकारीले आफ्नी आमा स्वर्गीय लीलादेवी अधिकारीमा समर्पित गर्दै उद्घोषण कला नामक पुस्तक प्रकाशित गरेका हुन् । स्याङ्जाको तुल्सी भन्ज्याङ जन्मिएका उनले आफ्नो कर्म थलो बुटवललाई बनाउँदै आएका छन् । २०५२ साल देखि सञ्चार जगतमा प्रवेश गरेका उनी अहिले स्टेज प्रदर्शनमा युवामाझ लोकप्रिय बनेका छन् ।

हाउजी विङ्गो तम्बोला खेलाउने शैली, आबाज र प्रस्तुतिका कारण उनी थप लोकप्रिय बनेका छन् । अधिकारीले आफ्नो पुस्तकमा उदघोषण कलासहित प्रभावकारी भाषण कला र नेतृत्वका सीपहरुका सम्वन्धमा स्पष्ट र सबैले बुझ्ने भाषामा सरल हिसाबले प्रस्तुत गरेका छन । उनी उदघोषणकै लागि जापान,क्यानडा लगायतका देशमा समेत पुगिसकेको छन् भने नेपालका करीब ६० भन्दा बढी जिल्लामा समेत पुगिसकेका छन् । बुटवलको ट्राफिक चोकमा जुत्ता पसल सञ्चालन गर्दै आएका अधिकारी फुर्सदको समयमा पुस्तक लेख्ने गर्दै आएका छन् । अधिकारीका आधा दर्जन पुस्तक बजारमा आइसकेका छन् । पछिल्लो पुस्तक उदघोषण गर्न चाहने, भाषण गर्न खोज्नेदेखि नेता बन्न खोज्नेहरुका लागि निकै उपयोगी सावित हुने विश्वास गरिएको छ ।