रामचन्द्र पौडेलले सानेपाको ढोका बन्द गरेपछि तनहुँमा बबण्डर

प्रकाशित मिति:

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वसहमहामन्त्री गोविन्दराज जोशीबीचको विवादले उग्ररुप लिएको छ । कांग्रेसको महासमिति बैठकमा पौडेलले जोशीलाई प्रवेश गर्न नदिएपछि विवाद बाहिर आएको हो । पौडेलको निरंकुशताविरुद्ध जोशीले तनहुँमा अलग भेला बोलाउने निर्णय गरेका छन । बिहीबार पत्रकार सम्मेलन गरेर जोशीले पौडेलको निरंकुशतविरुद्ध तनहुँमा समानान्तर जिल्ला कार्यसमिति बनाउने तयारी गरेका छन । जोशीको यो कार्यबाट पौडेललाई तनाव भएको छ । पौडेलको पेलानमा परेका पूर्वसहमहामन्त्री जोशी र उनीनिकटको समूहले तनहुँमा समानान्तर जिल्ला कार्यसमिति बनाउन लागेको हो ।

जोशीनिकट नेता तथा कार्यकर्ताहरूले जिल्ला नेतृत्वप्रति असन्तुष्टि जनाए । उनीहरूले अलग विशेष भेलाको घोषणा गरेका छन् । तनहुँमा पौडेल समूहको बर्चश्व रहेको छ । पार्टीको जिल्ला नेतृत्व परिवर्तन गर्न भन्दै उनीहरूले आगामी माघ ८ गते विशेष अधिवेशन आयोजना गर्ने भएका छन् । जोशीनिकट समूहले पार्टी नेतृत्वको गतिविधि कमजोर भएको र निर्वाचनमा समेत सबै सीटमा पराजय भोग्नुपरेको भन्दै त्यसप्रति चर्को असन्तुष्टि व्यक्त गरेको थियो । जोशीले चुनावमा पार्टी कमजोर हुनुमा नेतृत्वको हात भएको भन्दै सोही कारण नेतृत्व परिवर्तन गर्नुपरेको दावी गरेका छन ।

नेता जोशीले पार्टीका क्षेत्रीय प्रतिनिधिलाई महाधिवेशन डाक्ने अधिकार भएको बताए । तनहुँ कांग्रेसलाई बलियो बनाउन विशेष अधिवेशन बोलाइएको जोशीले बताए । कांग्रेसका नेता जोशीले भनेका छन, ‘पार्टी नेतृत्वले सही काम गर्न नसकेको साथीहरूले ठहर गरेकाले क्षेत्रीय प्रतिनिधिहरूले अधिवेशन घोषणा गरिएको छ ।’ अधिवेशनमा उनले पार्टीको विधानअनुसार २५ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधि आउने दावी गरेका छन् । अधिवेशन आयोजनाका लागि डिल्लीराम अधिकारीको नेतृत्वमा आयोजक समिति समेत गठन गरेको बताइएको छ । पार्टीकै विधानविपरित देखिने यस अधिवेशनबाट चुनिने नयाँ कार्यसमिति कांग्रेसको समानान्तरक कमिटीकै हैसियतमा रहनेछ । प्रतिनिधिसभा निर्वाचनको बेला कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका नेता जोशीको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो तनहुँमा कांग्रेसका दुई प्रभावशाली नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीच लामो समयदेखि राजनीतिक दुशमनी कायम छ ।