कांग्रेसको महासमिति बैठक सुरु हुँदै, विधानबारे सहमति जुटाउने प्रयास जारी

प्रकाशित मिति:

पुष ६ काठमाडौं । पार्टीको विधान संशोधनबारे शीर्ष तहमा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसको महासमिति बैठक आज (शुक्रबार) पनि जारी रहने भएको छ।सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा अब केहीबेरमा बैठक सुरु हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘आजको बैठक पनि विधानबारे सहमति जुटाउने प्रयासमा केन्द्रित हुनेछ,’ प्रवक्ता शर्माले नेपालखबरसँग भने, ‘सम्भवतः आज सहमति हुनेछ।’ आठ सदस्यीय पदाधिकारी बनाउने समझदारी गरेका दलहरूले कोषाध्यक्ष बाहेक सबै पदमा निर्वाचन गर्ने वा केही पदमा मनोनयन गर्ने भन्ने बिषयमा सहमति जुटाउन सकेका छैनन्।

बैठकमा सदस्यहरूले विधानको मस्यौदामा देखिएको असमझदारी महासमिति बैठकबाट हल गर्न सुझाव दिदै आएका छन्। महासमिति बैठकपछि दिउँसाे बस्ने केन्द्रीय समिति बैठकमा पदाधिकारीको संख्या र निर्वाचन पद्धतिबारे छलफल हुने एक केन्द्रिय सदस्यले बताए। बन्द सत्र छलेर शीर्ष नेताहरू कोठे बैठकमा केन्द्रित भएपछि रुष्ट बनेका महासमिति सदस्यहरूको माग सम्बोधनका लागि कांग्रेसले बन्द सत्रमा बाँकी प्रतिवेदनबारेकाे छलफललाई निरन्तरता दिने भएको छ। विधान मस्यौदामा सहमति जुट्न नसके पनि कांग्रेस महासमिति बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक र लेखा परीक्षण प्रतिवेदनमाथि छलफल जारी छ। पार्टी सदस्यहरूले प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने कांग्रेसले जनाएको छ। गत बुधबार सम्मका लागि बोलाइएको बैठक अनिश्चित समयसम्मका लागि लम्बिएको छ।