आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ !

प्रकाशित मिति:

ताप्लेजुङ पुष ६ । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् । सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनस्थित २० वर्षीया युवतीले आफ्नै २४ वर्षीय श्रीमानले गत असोज ८ गते बलात्कार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । बलात्कार आरोपपछि लुकिछिपी बसेको अवस्थामा जिल्लाकै आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेबाट ती पुरुषलाई पक्राउ गरिएको हो । उनलाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दोषी ठहर नभएसम्म आरोपितको नाम प्रहरीले गोप्य नै राखेको छ । यसबाहेक ज्यान मार्ने मुद्दामा पक्राउ परेका फुङलिङ नगरपालिका–२ का २२ वर्षीय विकास लिम्बू कारागार चलान भएका छन् । गत मंसिर ५ गते गाउँकै ३० वर्षीय पुरुषलाई डण्डी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेका लिम्बूलाई मंसिर ७ गते प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको थियो । उनलाई अदालतले पुस ५ गते २ लाख ८ हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
अन्नपूर्णपोस्ट