वालिङ/नेपाली काँग्रेस वालिङ नगर समितिको आयोजनामा बिहीबार वालिङमा उम्मेदवारहरुबीच छलफल तथा अन्तरक्रिया गरिएको छ । आगामी बैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरी उम्मेदवारी दिनुभएका सबै उम्मेदवारहरुलाई बिजयी गराउनकालागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिईएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले नेपाली काँग्रेसका सबै उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गरी बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले बाँकी रहेका अधुरा कार्यहरुलाई पूरा गर्नकालागि यसपटक नेपाली काँग्रेसका उम्मेदवारलाई बिजयी बनाएर वालिङको सपना साकार पार्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको हो ।कार्यक्रममा स्याङ्जा जिल्लाका उपसभापति केदार काफ्लेले पार्टीले गरेका कार्यहरु तथा घोषणापत्रमा उल्लेख गरिएका विषयहरुकाबारेमा नागरिकहरुलाई जानकारी गराउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा काँग्रेस क्षेत्रीय सभापति तथा नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले यसअघिको निर्वाचनमा अधुरा रहेका कार्यहरु पूरा गर्नकालागि यसपटक आफ्नो उम्मेदवारी रहेको बताउनुहुँदै सहयोग गर्न आग्रह गर्नुभयो । “गएको कार्यकालमा लक्ष्य अनुसारका सबै कामहरु पूरा हुन सकेको छैन” प्रमुखका उम्मेदवार खाँणले भन्नुभयो, “केही थालिएका छन्, केही सम्पन्न हुने क्रममा छन् त्यसैले एउटा मार्गमा अगाडि बढाउनकालागि पनि अमूल्य मत दिएर यहाँहरुले सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।”कार्यक्रममा उपप्रमुखका उम्मेदवार कविता तिवारी गैह«ेले महान लक्ष्यसहित अगाडिको यात्रा तय भएकाले सफलतापूर्वक गन्तब्य निर्धारण गर्नेगरी अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा नगर सभापति नेत्रप्रसाद पाण्डे, नगर सचिव राजु तिवारीले नेपाली काँग्रेस पार्टीमा नेता कार्यकर्ताहरु उत्साहकासाथ सहभागी हुने क्रम बढेको बताउनुभयो । उहाँले आगामी निर्वाचनबाट काँग्रेस पहिलो पार्टीकोरुपमा स्थापित हुने दाबी गर्नुभयो ।यसैबीच बिहीबार नेपाली काँग्रेसकातर्फ नगर प्रमुख, उपप्रमुखका उम्मेदवारसहित वडा अध्यक्ष तथा सदस्यहरुको टोलीले वालिङ ५ र ७ का विभिन्न टोल टोलमा पुगेर टोल भेलालाई सम्बोधन गर्नुभएको थियो । यसैबीच नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा, मंगोल अर्गनाईजेशन लगायत स्वतन्त्र उम्मेदवारहरुले चुनावी प्रक्रियालाई तिब्रता दिंदै घरदैलो अभियान जारी राखेका छन् ।