तनहुँको भुजेल गाउँभरि कलिला आमा, १४ वर्षमा विवाह २० वर्षमा तीन सन्तान

प्रकाशित मिति:

तनहुँ,६ पुष । तनहुँको भुजेल गाउँ बन्दीपुर नगरपालिकाभित्रै पर्छ । बस्तीनजिकै प्राथमिक विद्यालय पनि छ । बस्तीका सबैजसो बालबालिकाको नाम विद्यालयमा टिपाइएको पनि छ । तर, विद्यालयमा बालबालिका भने निकै कम हुन्छन् । विद्यालय जाने उमेरका अधिकांश बालिका घरैमा छोराछोरी खेलाएर बसेका भेटिन्छन् । विद्यालय जाने उमेरका अधिकांश बालिका आमा बनेर घरैमा बसेका छन् । कलिलै उमेरमा आमा बन्नु यो बस्तीको चलनजस्तै भएको बताउँछन् हिराबहादुर भुजेल । बस्तीमा शिक्षा र चेतनाको कमीले १२/१३ वर्षका बालिकासमेत आमा बनेको उनले बताए । ‘बालबालिकामा शिक्षाको पहुँच पु¥याउन कोसिस गरिरहेका छाैँ, तर सकेका छैनाैँ,’ उनले भने, ‘विद्यालय पठाउन खोज्छौँ, जानै मान्दैनन्, यदि गइहाले भने पनि भागेर छिट्टै घर फर्किन्छन् ।’ कम उमेरमै विवाह गर्ने यहाँको प्रचलनजस्तै भएको उनले बताए । भुजेल गाउँका ६१ परिवारमध्ये अधिकांश अशिक्षित छन् ।

१४ वर्षमा विवाह २० वर्षमा तीन सन्तान
भुजेल गाउँका अधिकांश बालिकाको १४–१५ वर्षको उमेरमा विवाह भइसक्ने स्थानीय रमेश भुजेलले बताए । ‘२० वर्षमा त तीन सन्तानका आमा भइसक्छन्,’ उनले भने, ‘बस्तीमा विकृतिजस्तै भइसकेको छ, मोबाइलबाट फोन र च्याट गर्छन् त्यसपछि विवाह गरिहाल्छन् ।’आँधीबाराही प्राथमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर लामिछानेले बस्तीमा नजिकै विद्यालय भए पनि बालबालिकालाई नियमित विद्यालय ल्याउन नसकेको बताए । ‘उनीहरूलाई आकर्षण गराउन दिउँसो मासुचिउरा खाजाको व्यवस्थासमेत ग-यौँ,’ उनले भने, ‘त्यति गर्दा पनि आएनन् ।’ विद्यालयमा कुल ७० बालबालिका भर्ना भएका छन् । तर, नियमित विद्यालय आउने मुस्किलले ३५/४० मात्रै हुन्छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बस्तीका बालबालिकालाई सानै उमेरमा विवाह गर्न हुँदैन स्वास्थ्यमा असर गर्छ भन्दा पनि नमान्ने गरेको बताए । ‘जनचेतना जगाउने विभिन्न कार्यक्रम पटक–पटक गरिसक्यौँ । तर, सुधार भएको छैन,’ उनले भने, ‘आगामी दिनमा २० वर्ष नपुगी विवाह नगर्न आग्रह गरेका छौँ ।’