काँग्रेसद्वारा चुनावी अभियानलाई तिब्रता

प्रकाशित मिति:

 वालिङ ।नेपाली काँग्रेस वालिङले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनावी प्रचार प्रसार अभियानलाई तिब्र पारेको छ ।चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमकाक्रममा बुधबार वालिङ १४ का फौदीखोला, कफ्लेटी, सिरबानी, हुल्काङ, डुम्रेभञ्ज्याङ, थाना, करादी, कोखेलगायतका स्थानहरुमा कोणसभा तथा घरदैलो कार्यक्रम गरेको हो ।

विभिन्न ठाउँमा भएका कोणसभामा बोल्नुहुँदै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले जनतालाई झुक्याउने र झुटा आश्वासनमात्रै बाड्नेलाई नभई जनताको हरेक सुख दुखमा प्रत्यक्षरुपमा सहभागी भएको स्थानीय सरकारका निवर्तमान प्रमुख एवं नेपाली काँग्रेसका उम्मेदवार दिलीपप्रताप खाँण, उपप्रमुख कविता तिवारी गैह«ेसहितको नेपाली काँग्रेसको टिमलाई बिजयी गराउन अनुरोध गर्नुभयो ।“हामी झुटा आश्वासन बाड्न जान्दैनौं, जे बोल्छौं त्यही गर्छौ, जे गर्छौ त्यही बोल्छौं” तिवारीले भन्नुभयो, “पाँच वर्षसम्म नेपाली काँग्रेसकातर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको विकास निर्माण तथा कोभिड जस्तो महामारीका समयमा गरेको कार्य उदाहरणीय र प्रशंसनीय रहेको छ, हामी समस्याबाट भाग्दैनौं डटेर सामना गर्छौं ।”

कार्यक्रममा पूर्व नगर प्रमुख भोजराज अर्यालले जनताको आधारभूत आवश्यकताहरुको पहिचान गरी तिनै आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर नगरपालिकाले योजना बनाउने बताउनुभयो ।उहाँले यहाँका समस्याहरुकाबारेमा नेपाली काँग्रेसका नेताहरु जानकार रहेको बताउँदै माटो र हावापानी सुहाउँदो र जनताको मागका आधारमा नयाँ कार्यक्रमहरु ल्याउनेमा जोड दिनुभयो । जनतासँग प्रत्यक्ष जोडिने सरकार स्थानीय सरकार भएकाले जनतालक्षित कार्यक्रमकालागि काँग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउन पनि उहाँले अनुरोध गर्नुभयो ।

काँग्रेस महाधिवेशन प्रतिनिधि विष्णु पौडेलले काम गर्ने शिलशिलामा अधुरा रहेका कार्यहरुलाई पूरा गर्नकालागि र अनुभवलाई प्रयोग गर्न दिनकालागि नेपाली काँग्रेसका सम्पूर्ण उम्मेदवारहरुलाई बिजयी गराउन अनुरोध गर्दछु ।कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार एवं निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिका एउटा गतिमा अगाडि बढेको बताउनुभयो ।

नगरबासीहरुको सल्लाह, सुझाव र सहयोगबाट विभिन्न क्षेत्रमा बृहत नगरस्तरीय योजना बनाई कार्यान्वयनको चरणमा रहेकाले त्यसलाई पूरा गर्नकालागि र आधारभूत तहको स्मार्ट सिटी निर्माण गर्नकालागि नेपाली काँग्रेसलाई बिजयी गराउन नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले अनुरोध गर्नुभयो ।“बाहिर विभिन्न अफवाहहरु फैलाईएको छ, त्यसमा कुनै सत्यता छैन” नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले भन्नुभयो, “नगरले अगाडि बढाएका विभिन्न कार्यहरुमा अवरोध सिर्जना गरिएका छन्, यसमा नागरिकहरु सचेत हुनु आवश्यक छ ।”कार्यक्रममा उपप्रमुख पदकी उम्मेदवार कविता तिवारी गैह«ेले जबसम्म नागरिकको आर्थिक विकास हुन सक्दैन तबसम्म नगरको विकास हुन नसक्ने भएकाले आर्थिक विकासकालागि उद्यमशीलताका कार्यहरुलाई प्राथमिकताकासाथ अगाडि बढाउने बताउनुभयो ।