बौद्धदर्शन र सञ्चार’ मा युगीन भाष्य

प्रकाशित मिति:

ऋषि आजाद-आज म डा. बालकृष्ण चापागाईंको विद्यावारिधि शोधग्रन्थमा आधारित ‘बौद्धदर्शन र सञ्चार’ कृतिको समीक्षा गर्ने जमर्को गर्दैछु । यसमा मैले उनको व्यक्तित्व र कृतित्व दुबै पक्षको सामान्य चर्चा गर्छु । डा.बालकृष्ण चापागाईंको व्यक्तित्व : सधै बिहान ४ बजे उठ्ने अनि मर्निङ्गवाकमा जाने, घर फर्केर नुहाईधुवाई गर्र्ने, दाह्री कपाल मिलाउने, चिया पिउने अनि बिहान सबेरै एकपटक सबै पत्रपत्रिकाका समाचारहरु र केही अनलाइन समाचारहरुमा अपडेट हुने अनि चिया खाजा खाएर मन परेको सफा टाइसुटमा सजिएर बस्ने बानी छ । विभिन्न संघसंस्थाहरुमा आबद्ध भएका हुनाले बिहान आफ्नै कारमा सरर हिड्ने, महत्वपूर्ण व्यक्तित्वहरुसँग भेटघाट गर्ने, बैठक भेलामा भाग लिने र प्रफुल्ल मुद्रामा आफ्ना विचारहरु राख्ने गर्छन् । उनको आफ्नै अलग शैली र विशिष्ट पहिचान छ । उनी रुपन्देही मिडियाका नायक मात्र हैनन् राष्ट्रिय प्रतिभा हुन् । राजनीतिमा रहरिए पनि राजनीतिमा भन्दा उनी पत्रकारितामै विशेष सफल देखिन्छन् ।

उनको कुशल नेतृत्वमा बुटवलबाट दैनिक पत्र राष्ट्रिय दैनिक, जनसंघर्ष राष्ट्रिय साप्ताहिक र स्वाधीन राष्ट्रिय मासिक र अनलाइन संस्करण: दैनिकपत्र डटकमको लामो समयदेखि निरन्तर प्रकाशन हुनुले उनको सफल व्यक्तित्वको प्रमाण दिन्छ । डा.चापागाईं वि.सं.२०१८ मंसिर ८ मा स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नम्बर ९ आङवाङ – ठूली भन्ज्याङ (गण्डकी प्रदेश) मा आमा डिल्लीकुमारी चापागाईं र बुबा नरभुपाल चापागाईंको जेष्ठ सुपुत्रका रुपमा जन्मिएका हुन् । हाल उनी बुटवल ४ लक्ष्मीनगर बस्छन् । शिक्षामा उनले २०७८ सालमा लुम्बिनी बौद्ध विश्व विद्यालयबाट ‘बौद्ध दर्शन र सञ्चार’ मा विद्यावारिधि गरेका हुन् । उनी एम.ए.नेपाली (त्रिभुवन विश्व विद्यालय), एम.ए.आम सञ्चार तथा पत्रकारिता (पूर्वाञ्चल विश्वविद्यालय) एलएलबी (त्रिभुवन विश्वविद्यालय) उत्तीर्ण गरेका छन् । उनी अधिवक्ता पनि हुन् ।

उनी धेरै संघसंस्थाका संस्थापक हुन् । कैयौ संस्थाहरुमा उनको संलग्नता पनि छ । बुटवल मिडिया प्रकाशन प्रा.लि.का प्रधान सम्पादक तथा कार्यकारी प्रमुख हुन् । उनले दैनिक पत्र दैनिक, जनसंघर्ष साप्ताहिक तथा स्वाधीन मासिक पत्रिका प्रकाशन गरिरहेका छन् । उनी राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष हुन् । त्यसरी नै प्रेस चौतारी नेपालको दुुई कार्यकालसम्म केन्द्रीय अध्यक्ष भएर नेतृत्व गरेको अनुभव छ । उनले उच्चस्तरीय मिडिया सुझाव आयोग – २०६३ मा सूचनाको हक सम्बन्धी विधेयक मस्यौदा कार्यदलको सदस्य भएर कुशलतापूर्वक जिम्मेबारी पूरा गरेका थिए । श्रमजीवी पत्रकार ऐन संशोधन मस्यौदा कार्यदल २०६४ का सदस्य, कान्ति मावि बुटवलका पूर्व अध्यक्ष, मलमला रेडियो प्रालिका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ रुपन्देहीको दुई कार्यकाल अध्यक्ष भई नेतृत्व गरिसकेका छन् । त्यस्तैगरी उनी अहिले लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय सदस्य हुन् । यी लगायत उनी दर्जनौं संघसंस्थाहरुमा आबद्ध छन् ।

उनले जीवनको लामो कालखण्डमा धेरै काम गरेका छन् । उनी पद प्रतिष्ठा भन्दा काममा महत्व दिन्छन् । जुनसुकै स्थानमा बसेपनि उनले परिणाम देखाउने गरी काम गर्छन् । उनको नेतृत्व कालखण्डमा दीर्घकालसम्म सम्झाउने गरी थुप्रै काम भएका छन् । उनी कर्ममा विश्वास गर्छन् । यसै सिलसिलामा उनले थुप्रै पुरस्कारहरु प्राप्त गरेका छन् । ती पुरस्कारहरुमा उत्कृष्ट पत्रकारिता पुरस्कार २०५२, तन्नेरी प्रतिभा सम्मान पुरस्कार २०६०, भ्रष्टाचार विरुद्धको अभियानमा सम्मान पुरस्कार २०६१, गोपालदाश पत्रकारिता पुरस्कार (२०७४), रिपोर्टस क्लब नेपाल, लुम्बिनी प्रदेशबाट सम्मानित (२०७७), प्रबल जनसेवाश्री पदकबाट सम्मानित २०७८ आदि हुन् ।उनको पत्रकारी इतिहास लगभग ४५ वर्ष लामो छ । उनी औपचारिक रुपमा २०३८ सालदेखि पत्रकारितामा लागेको देखिन्छ तथापि त्यसभन्दा पहिलाका दिनहरुमा अभ्यास गरिरहेको देखिन्छ । लामो अभ्यासको चरणबाट गुज्रदै आएको हुनाले पनि उनका विचार, भाषा र शैली परिस्कृत छन् ।

डा. बालकृष्ण चापागाईंको कृतित्व : उनका पुस्तकाकारमा प्रकाशित कृतिहरु ‘आम सञ्चार तथा नेपाली भाषा’ (अनुसन्धनात्मक कृति २०६५), ‘पत्रकारितामा लुम्बिनी’ (अनुसन्धनात्मक कृति) हुन् । ‘ बौद्धदर्शन र सञ्चार’ नामक ग्रन्थ पछिल्लो तेस्रो कृति हो । उनका प्रकाशित कृतिहरुको गुण र ओजश्विताको कारण थोरै कृतिबाट बौद्धिक जगतमा स्थापित हुन सफल भएका छन् ।विद्यावारिधि शोधप्रबन्धको शीर्षकको छनोट उनले आफ्नो कर्मरेखाभित्रबाटै गरेका छन् । सञ्चार क्षेत्रका विज्ञ भएको हुनाले उनले ‘ बौद्धदर्शन र सञ्चार’ शीर्षक राखेका हुन् । विश्वमा विभिन्न राजनीतिक प्रणालीहरु छन् । ती राजनीतिक प्रणाली अनुसार प्रेसका सिद्धान्तहरु छन् । निरङ्कुशवादी राज्य प्रणाली भएको मुलुकको सञ्चार प्रणाली तदनुसारको हुन्छ । उदार राजनीतिक प्रणाली भएको मुलुकको सञ्चार प्रणाली उदारवादी प्रकृतिको हुन्छ । लोककल्याणकारी राज्य व्यवस्था भएको मुलुकको सञ्चार प्रणाली सामाजिक उत्तरदायित्वको सिद्धान्त र साम्यवादी सिद्धान्त भएको मुलुकमा साम्यवादी सञ्चार सिद्धान्त भनी परिभाषित गरिएको पाइन्छ । पछिल्लो समयमा विश्वमा अशान्तिका घटनाक्रमहरु दोहोरिदै जान थालेको सन्दर्भमा गौतमबुद्धका विचारको महत्व झनै मुखरित हुन थालेको छ । शान्ति र सञ्चार परिपुरक बनेका छन् । त्यसैले सञ्चारमा शान्ति सिद्धान्त विश्वका लागि अपरिहार्य बनेको छ । यसैलाई महत्व दिदै उनले आफ्नो शोध प्रबन्धमा सञ्चारको पाचौं सिद्धान्तका रुपमा सञ्चारमा शान्ति सिद्धान्तको प्रतिपादन नै गरेका छन् ।

अहिले विश्वमा सहअस्तित्व, समानता, स्वतन्त्रता र भाइचारामा आधारित लोकतान्त्रिक प्रणालीमा आधारित विश्वव्यापी सिद्धान्तको विकास भएको छ ।यही पृष्ठभूमिमा डा. बालकृष्ण चापागाईंले खास गरी बौद्ध धर्म– दर्शनको आलोकमा सञ्चारमा शान्ति शान्तिको सिद्धान्तको सैद्धान्तिक अवधारणा प्रस्तुतगरेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले यस शोधलाई प्रामाणिक गरिसकेको हुनाले यसलाई महत्वका साथ लिन सकिन्छ । अब यो सिद्धान्त पनि विश्वव्यापी हुनुपर्छ । काठमाण्डौमा भएको विमोचन समारोहमा यो शोधग्रन्थको विषयमा विभिन्न वक्ताहरुको महत्वका साथ आफ्नो धारणा राखेका थिए । त्यसैले उनको कृतित्वको महिमा बढेको छ । डा.बालकृष्ण चापागार्इंको प्रस्तुत अध्ययनको उद्देश्य बौद्धदर्शन र सञ्चारको अन्तरसम्बन्धमा केन्द्रित भएको हुनाले बुद्धका विचार, चिन्तन र दर्शनको विकास एवं विस्तारमा सञ्चारको भूमिका के कस्तो थियो ? भनी निष्कर्ष निकाल्नु हो । बुद्धकालीन सञ्चारको प्रकाश पार्नु, बौद्धदर्शनको विकासमा सञ्चारको भूमिका स्पष्ट पार्नु, विश्व शान्तिका लागि बौद्धदर्शन र सञ्चारको भूमिका निक्र्यौल गर्नुमा शोध कार्य केन्द्रित रहेको छ ।

शोधग्रन्थको सैद्धान्तिक अवधारणा :शोधग्रन्थ लेखन महत्वपूर्ण काम हो । शोध अनुसन्धान, खोज, अन्वेषण गवेषण आदि भनिन्छ । शोध वा अनुसन्धानलाई अङ्ग्रेजीमा रिसर्च भनिन्छ । शोध प्रतिवेदनलाई अंग्रेजीमा थेशिस अर्थात रिसर्च रिपोर्ट भन्छि ।शोधकार्य महत्वपूर्ण कुरा हो । यो नयाँ आविष्कार हो । शोधखोज वा अनुसन्धान भईसकेपछि नयाँ कुराको प्राप्ति हुन्छ । त्यसलाई सम्बन्धित विश्वविद्यालयले प्रक्रियागत रुपमा आविष्कार गरेको प्रमाणपत्र र विद्यावारिधिको उपाधि दिन्छ । यो नै पुस्तक शोध पत्र नभई शोधकार्य सम्पन्न गरिसकेपछि सम्बन्धित निकायले स्वीकृत दिएको विषयलाई पाठक सामु ल्याउन ग्रन्थको रुपमा प्रकाशित गरिएको हो । यो शोधग्रन्थ हो ।अनुसन्धनात्मक लेखन प्राविधिक, बौद्धिक एवं प्राज्ञिक लेखन हो । यसको लागि श्रोत साधन, समय, श्रम सबै लगानी गर्नुपर्ने हुन्छ । शोधकार्य सम्पन्न गर्न निश्चित चरणहरु पार गर्नुपर्ने हुन्छ । अनुसन्धानको प्रक्रिया पूरा गर्न बनाइएका यस्ता वस्तुपरक फर्मेटहरुले शोधकर्तालाई विषयवस्तु पस्कन सहज हुन्छ । यसमा अनुसन्धेय विषय र शीर्षक छनोट, आवश्यक सामग्री सङ्कलन र व्यवस्थापन, गम्भीर पठन र टिपोट सैद्धान्तिक अध्ययन र प्रविधि संयोजन लगायतका चरणहरु पार गर्दै अन्त्यमा प्रारम्भिक भाग, मूलपाठ, सन्दर्भ सामग्री भागको खण्डमा ढालेर विभिन्न उपशीर्षक राखी व्यवस्थित रुपमा लेख्ने गरिन्छ ।

‘बौद्धदर्शन र सञ्चार’ ग्रन्थमा केही विद्वानहरुको टिप्पणी :यस पुस्तकमा विभिन्न विद्वान्हरुले बधाई तथा शुभकामना दिएका छन् । ती विद्वानहरुमा रामचन्द्र भट्टराई, डा. गीतु गिरी, डा. सुरेन्द्रमान बज्राचार्य, ऋषिराम भुसाल,जङ्गबहादुर शाह छन् ।शोधप्रबन्धको विषयमा टिप्पणी गर्दै वरिष्ठ साहित्यकार रामचन्द्र भट्टराई भन्छन् —“यस ग्रन्थमा बौद्धदर्शन र सञ्चारको अन्तरसम्बन्ध, विषयवस्तुको ऐतिहासिक सन्दर्भ, सैद्धान्तिक अवधारणा, गौतम बुद्धको परिचय, बुद्धकालीन सञ्चारको अवस्था, बौद्ध दर्शनको विकासमा सञ्चारको भूमिका, विश्व शान्तिको लागि बौद्धदर्शन र सञ्चारको भूमिका उपसंहार, निष्कर्ष एवं सुझावमा कृतिका मुख्यअंश समेटिएकाले यो निकै गहकिलो र पठनीय बन्न पुगेको छ ।संस्कृतिविद प्रा.डा. गीतु गिरी भन्छन्— “बौद्ध दर्शन शाश्वत जीवन दर्शनको रुपमा विकसित भएको छ, यसलाई बौद्ध साहित्यको विश्लेषणबाट निकटता देखाइएको यो पुस्तक अनुसन्धानमा आधारित छ ।”डा.सुरेन्द्रमान बज्राचार्य भन्छन्—‘बौद्धदर्शन र सञ्चार ’ शीर्षकको पुस्तक बौंद्ध धर्म– दर्शन र सञ्चार बीचको पारस्परिक सम्बन्धका विभिन्न आयाम र सन्दर्भहरुको अध्ययन अनुसन्धान गरी नेपालमा पहिलोपटक प्रकाशित महत्वपूर्ण कृतिका रुपमा देखा परेको छ ।”सहप्राध्यापक ऋषिराम भुसाल भन्छन्—“पत्रकारिता, भाषा र दर्शन सम्बन्धी विभिन्न पुस्तक प्रकाशित गरिसक्नु भएका उहाँले अहिले ‘बौद्धदर्शन र सञ्चार ’ मा केन्द्रित रहेर गहन र फराकिलो विषयमा कलम चलाउनु भएको छ । डा. चापागाईंलाई धेरै धेरै बधाई छ ।”वरिष्ठ आख्यानकार जङ्गबहादुर शाह भन्छन्—“डाक्टर साबले यस शोधग्रन्थको अङग्रेजी अनुवाद पनि गराउन आवश्यक छ । यो थेसिस अङग्रेजीमा अनुवाद भएपछि यसलाई धेरैले पढ्नेछन् । र, शोधकर्ताले देशबाहिर पनि प्रसिद्धि पाउनु हुनेछ । यसलाई विश्वभरका पाठकले पढ्न पाउने गरी विभिन्न भाषामा प्रकाशित गर्नु आवश्यक छ ।”

पुस्तकको अन्तरदीप्तिको प्रकाश :डा. बालकृष्ण चापागाईंले यस ग्रन्थमा संक्षेपीकृत शब्दसूची दिनुभएको छ । अनारिका, चार महाभूत, तथागत बुद्ध, पञ्च अभिज्ञान र पञ्चज्ञान, पर्णकुटी, प्रतीत्यसमुत्पाद, वर्षवास, महायान, बज्रयान, हीनयानलगायत थुप्रै पाली शब्दहरुको अर्थ स्पष्ट पारिएको छ । यसबाट पुस्तकमा पढ्न र गढ्न सहज भएको छ ।यस ग्रन्थको खण्ड एकमा ‘बौद्धदर्शन र सञ्चार’ को विषयमा लेखिएको छ । यसमा सञ्चार सिद्धान्तलाई विकासक्रमकै आधारमा हेरिनु पर्ने भन्दै यसको खोज, उद्देश्य औचित्य, सीमा, रुपरेखाको विषयमा उल्लेख गरिएको छ ।खण्ड दुईमा दश पृष्ठदेखि ५६ पृष्ठसम्म ऐतिहासिक सन्दर्भ उल्लेख छ । यसमा दर्शन – दिग्दर्शन, नेपालमा बौद्ध धर्म, बौद्धधर्मको सामान्य परिचय, बुद्ध र बुद्धवाद, बौद्धदर्शन, सम्यक सम्बुद्ध, हिमाली क्षेत्रमा बौद्ध परम्परा, लुम्बिनीको इतिहास, बुद्ध दर्शन र धर्म, बुद्धवादका तीन आयामलगायतका विषयवस्तुहरु समेटिएका छन् ।

खण्ड तीनको ५७ देखि ६२ पृष्ठसम्म सैद्धान्तिक अवधारणा पस्किएको छ । खण्ड चार ६२ पृष्ठदेखि १ सय २७ पृष्ठसम्म रहेको छ । यस खण्डमा बुद्ध शब्दको अर्थ र परिभाषा, सिद्धार्थको पारिवारिक पृष्ठभूमि, जन्म, नामकरण, सिद्धार्थको अहिंसावादी सोंच, सिद्धार्थको वैवाहिक जीवन, सिद्धार्थको गृहत्याग, ज्ञानप्राप्तिको अभ्यासमा सिद्धार्थ, सिद्धार्थलाई बुद्धत्व प्राप्ति, गौतमबुद्ध उपदेश मार्गमा, गौतम बुद्ध र सुद्धोधनको भेट, गौतमबुद्धको महापरिनिर्वाण, मैत्री र शान्ति खोजले बुद्धको उदयजस्ता विषयमा चर्चा गर्दै अन्तरमुखी सञ्चार, अन्तर्वैयक्तिक सञ्चार, समूह सञ्चार र आम सञ्चारजस्ता विषयको चर्चा छ । यस खण्डमा सञ्चार सम्बन्धी बुद्धको अवधारण उल्लेख छ । यसमा सत्यताप्रति अनवरत खोजी र सञ्चार, चार आर्यसत्य र अष्टाङ्गिक मार्गको सञ्चार, पीडाबाट मुक्ति र आनन्दको सञ्चार, बुद्धको मौन सञ्चार: विपश्यना योग, प्रभावकारी मौखिक सञ्चार, नवीनतम् मौलिक अभिव्यक्ति, न्याय र समानताको सञ्चार आदिको चर्चा गरिएको छ । बुद्धकालीन सञ्चार पद्धतिहरुको पनि राम्रो विश्लेषण गरिएको छ ।

खण्ड पाँच १ सय २८ पृष्ठसम्म फैलिएको छ । यस खण्डमा बौद्धदर्शनको विकासमा सञ्चारको व्याख्या छ । यसमा चार आर्यसत्यमा पहिलो आर्यसत्य, दोस्रो आर्यसत्य, तेस्रो आर्यसत्य, चौथो आर्यसत्यको व्याख्या छ । त्यसरी नै यसमा आर्य अष्टाङ्गिक मार्गको पनि व्याख्या गरिएको छ । अष्टाङ्गिक मार्गका सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीवीका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधिको वर्णन छ । यसमा पारमिताको व्याख्या पनि छ । यसमा दान पारिमिता, शील पारमीता, क्षान्ति पारमीता, वीर्य पारमिता, ध्यान पारमिता, प्रज्ञा पारमिता, बल पारमिता, उपाय पारमिता, प्रणिधान पारमिता, ज्ञान पारमिताको विषयमा बताइएको छ । यी नै बौद्धदर्शन र धर्मका महत्वपूर्ण व्यवहारिक उपलब्धि हुन् । बौद्धदर्शनमा मध्यम प्रतिपद मार्ग, प्रतीत्यसमुत्पादको वर्णन छ । बौद्धदर्शनका त्रिलक्षण, अनात्मावाद, अनिश्वरवाद र अभौतिकवादको चर्चा छ । यस खण्डमा बौद्धदर्शनको विकास क्रम, बौद्धदर्शनका प्रमुख मतको व्याख्या गरिएको छ । हीनयान, महायान, बज्रयान सम्प्रदायको व्याख्या छ । यान साहित्य र बौद्ध सञ्चार, बौद्धसंगायन र सञ्चारको व्याख्यान् पनि छ ।खण्ड छ १ सय २८ देखि २ सय २० पृष्ठसम्म फैलिएको छ । यसमा विश्व शान्तिको लागि बौद्धदर्शन र सञ्चारको व्याख्या छ । यस खण्डमा विश्व शान्ति र सञ्चार, सञ्चारका सिद्धान्त, शान्ति र बुद्धत्व, विश्व शान्तिका आधार, विश्व शान्तिको प्रयाश, विश्व शान्ति र बौद्ध सञ्चार आदिको विषयमा उल्लेख छ । यसमा विश्व शान्तिमा बौद्ध दर्शनको प्रभाव र सञ्चारको भूमिकाको विषयमा उल्लेख छ । यो नै लेखकको मूल भाग हो ।

खण्ड सात २ सय ९४ पृष्ठसम्म फैलिएको छ । यसमा निष्कर्ष एवं सुझाव छ । खण्ड आठ ३ सय ९ पृष्ठसम्म छ । कृतिको मुख्य अंशमा समस्या, उद्देश्यको प्रकाश पार्दै सबै खण्डहरुको सारमा टेकेर उपलब्धिको चर्चा गरिएको छ ।अन्त्यमा लेखकले आफ्नो शोध ग्रन्थको तयारीको लागि अध्ययन गरेका नेपाली, हिन्दी, पालि, संस्कृत र अङग्रेजी भाषाका सयौं सन्दर्भ सामाग्रीहरुको विवरण प्रस्तुत गरेका छन् ।
कृतिको ओजश्विता देखिनुमा कृतिमा प्रयुक्त विशिष्ट भाषिक शैली, सरलता, सरसता, अलङकार, प्रतीक र बिम्बहरु आदिले सजिएर आएको भाषिक कलाले गर्दा नै हो । शोधग्रन्थमा विवरणात्मक भाषा हुने भएकोले कलात्मकता अलि कम छ । यस्तो हुनु स्वभाविकै हो । निश्चय नै बुद्धको सञ्चार क्षमताको विलक्षण प्रतिभाको चर्चा छ । बौद्ध साहित्यमा महत्वपूर्ण कलात्मक कृति होलान् । बुद्धको मौखिक सञ्चार पनि निकै गहकिला, कलात्मक र प्रभावकारी भएको उल्लेख छ । जसरी होस् प्रभावकारी सम्प्रेषण आवश्यक हो । शोधग्रन्थको भाषा शुष्क नै हुनु पर्छ भने हैन, तर वर्णन र विवरणको भाषा औपचारिक नै हुन्छ । शोधपरक संरचनामा व्यवस्थित भएर आउँदा धेरै औपचारिकता हुनु स्वाभाविक हो । तर पनि भाषा पढिरहूँ जस्तो छ । यो कृति पढिरहँदा विचारसँग मिलेर नरिवलको मीठो स्वाद पाएजस्तो लाग्छ । पुस्तकको आवरण, डिजाइन, बेन्डिङ्ग, सबै राम्रो छ । यस पुस्तकको प्रकाशकको भूमिका लिनुहुने डा. सदीक्षा चापागाईं, प्रकाशन सहकार्यमा लुम्बिनी वाङमय प्रतिष्ठान, लुम्बिनी प्रदेश, बुटवल मिडिया प्रकाशन प्रा.लि., हाइटेक अफसेट प्रकाशन प्रा.लि., ले उच्चस्तरको कृति पस्केर शान्तिको लागि सञ्चार सिद्धान्त प्रकाशन गरेर महत्वपूर्ण काम गरेका छन् ।यस पुस्तकमा रमणीय संसारमा जन्म दिएर जीवनलाई मङ्गलमय र सार्थक बनाउने आफ्ना मातापिताप्रति भक्ति र समर्पण छ । तीनसय बाउन्न पृष्ठमा फैलिएको यो कृति सञ्चार जगतका लागि आवश्यक त छदैंछ , सम्पूर्ण व्यक्तिहरुलाई पनि आवश्यक छ ।उपसंहार-डा. बालकृष्ण चापागार्ईंको अविरल बग्दै रहेको जिन्दगी ज्ञान पारमिताले पूर्ण छ । विद्यावारिधिको उत्कर्षमा पुगेर ‘बौद्धदर्शन र सञ्चार’ मा विज्ञ हुनु भएकोमा हामी सबै कृतज्ञ छौं । युगीन भाष्यका रुपमा जनसमक्ष आएको यो पुस्तक (ग्रन्थ) ले अशान्तिको अन्त्य र शान्ति स्थापनामा महत्वपूर्ण योगदान दिनेछ । यहाँको दिग्दर्शन संसारभरि फैलियोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।