बस दुर्घटनाले जुम्ला शोकमग्न

प्रकाशित मिति:

जुम्ला – दाङ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट शैक्षिक भ्रमणमा गएको टोली चढेको बस दुर्घटनाले जुम्ला शोकमग्न छ। सो दुर्घटनामा परेर जुम्लाका ११ जनाले ज्यान गुमाएका छन्। ४ जना घाइते छन्।  मृतक ११ जना मध्ये ८ जनाको शव नेपाली सेनाको हेलिकप्टरले जुम्ला पुर्‍याएको छ।  जुम्ला विमानस्थलमा शव बुझ्नको लागि आफन्तजनको घुईचो लागेको थियो। बस दुर्घटनामा भएको क्षतिले जुम्लालाई ठुलो क्षति पुर्‍याएको छ। दुर्घटनामा परेर मृत्यु हुनेमा जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ वर्षीया कुशुम रावल, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ वर्षीय हिम्मत बोहरा, जुम्ला कन्का सुन्दरी गाउँपालिका ५ घर भएका २० वर्षीय वीरेन्द्र कडारा, जुम्ला हिमा गाउँपालिका ५ घर भएका १७ वर्षीया शैलजा शाही, जुम्ला चन्दनथान १० का १८ वर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ वर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय, जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला चन्दननाथ ३ का १८ वर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री, जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन्।

जुम्लाबाट फरेस्टी अध्ययन गर्न भनेर गएका विद्यार्थीको सपना अधुरै रह्यो। तिला गाउँपालिका २ का कल्से रावत ठुलो मेहनतका साथ पढ्न पठाएको स्मरण गर्दै दुर्घटनामा परेर ज्यान गुमाएको खवरले निकै दुखि बनाएको बताउँछन्। उनका आफन्त पर्ने तिला गाउँपालिका १ का जंगबहादुर बुढाको दुर्घटनामा निधन भएपछि अहिले गाउँ शोकमा छ। घरपरिवारमा रुवावासी छ। जंगबहादुरले जुम्ला सदरमुकाम खलंगाको रत्नचुडेश्वर माविमा शिक्षा संकायमा फारम भरेर अध्ययन गरिरहेका थिए। तर फरेस्टी अध्ययनका लागि विज्ञापन खुलेको जानकारी पाएपछि उनी संकाय नै परिवर्तन गरेर दाङ पढ्न गएका हुन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख सिताराम रिजालले विमानस्थलमा शव आफन्तले बुझेकाे बताए।