समयसापेक्ष नेतृत्व परिवर्तनको आवश्यकता

प्रकाशित मिति:

 

मनिस तिवारी

अहिलेको राजनैतिक परिवर्तनको आफ्नै इतिहास छ । परिवर्तनलाई संस्थागत गर्न गणतन्त्र सहितको संविधान र संघीय शासन प्रणालीलाई अहिलेसम्मकै ठूलो र नागरिकमैत्री उपलब्धिको रुपमा लिँइदै आएको छ ।

अहिलको संविधानले नागरिकको सर्वोच्चताको परिकल्पना गरेको छ । हजारौंको बलिदानीपूर्ण संघर्षबाट प्राप्त व्यवस्थामा नागरिकका आफ्नै अपेक्षा छन् । अहिले पनि हिजोको जस्तै अमुक शासकको स्वार्थ मिश्रित व्यवस्था भन्दा बाहिर जान नसकेको अवस्था छ । सयौं ठक्कर र हन्डरबाट पनि शिक्षा लिन नसक्ने, पटकपटक मुलुकको नेतृत्व गरेर पनि डेलिभरी दिन नसकेका टेस्टेड नेताहरुबाट अझै पनि थप कति आसा राख्ने ? पटक पटक उठ्दै आएका नेतृत्व परिवर्तन र मत मार्फत नागरिकले खडा गरेको यी पार्टी र नेताको विकल्प यही प्रवृत्तिको चुनौती हो ।

असफल सिद्ध भइसकेको व्यवस्थको वकालत गर्नेहरु अनि वर्तमान संबैधानिक पद्दतीबाट मुलुकको भाग्य र भविश्य भेट्न नसक्ने आंकलन गरिरहेका दुबैखाले तत्वहरु पनि अग्रगमनका बाधक नै हुन्। आजको नेपाली समाजले भलै, विकास र समृद्धिमा समयसापेक्ष रफ्तार लिन सकिरहेको नहोला तर सुशासनका निम्ति चेतना र ज्ञान सहित जिम्मेवार व्यक्ति र संस्थालाई खबरदारी गर्दै,समाजलाई सुसुचित गर्न सक्ने नैतिक तागत राख्दछ।

भ्रष्टाचार,अनियमितता,यथार्थ र धरातल मापन बिनाको भ्रमको आकासे खेती भित्र पनि मौलाउँदै गएको परिवारवादका कारण,दुषित बन्दै गएको राजनीति प्रति आम नागरिकहरुमा वितृष्णा पैदा हुनु स्वाभाविक नै हो। किनकी न गरिब र निमुखाको भोको पेट पटकपटक दोहोरिने नेताका भाषणले भरिन्छ न दैनिक हजारौंको संख्यामा मुलुक छाड्न विवश युवायुवतीहरुको पाईला, आश्वासन र सिद्दान्तको रटानले नै रोकिएको छ।

त्यसैले,पटकपटक बदलिँदै आएको व्यवस्थाबाट पनि सुध्रिन नसकेको अवस्थाबाट आजित समाज अब धेरै लामो समय यथास्थिति मै आसातित भैरहन सक्ने मनस्थितिमा देखिँदैन। जुन स्थानीय निर्वाचनमा बैकल्पिक शक्तिका नाममा छिट्याएका बाछिटाका रुपमा देखिइसकेको यथार्थ हो।

शसकीय अकर्मण्यता र अदुरदृष्टिता साथै दुई विशाल छिमेकी राष्ट्रहरुसँग रहँदै आएको गुजारामुखी सम्बन्धलाई विशेष आयाम भर्ने कुटनैतिक नीतिगत चातुर्यता,राजनीतिक दलहरुवीच सहकार्य र विकासका योजना अनि वैदेशिक नीतिका सम्बन्धमा राष्ट्रिय एकताको अभावका कारण, हामीले परिकल्पना गरेको सुखी नेपाली र सम्पन्न नेपालको लक्ष्य प्राप्ती सहज हुन सकिरहेको छैन।

ग्लोवलाइजेसनको युग,अन्तराष्ट्रिय परिभेष ,विकसित पछिल्लो घटनाक्रम र सम्पन्न मुलुकहरु हेर्दा,बद्लिँदो समाज अनि युग र शताब्दी सापेक्ष युवा नेतृत्व नै विकास, समृद्दि र सुशासनको संवाहक हो भन्ने कुरा मा अब दुविधा रहेन।

त्यसैले,लामो राजनीतिक पृष्ठभूमी,जेलनेल,त्याग र तपस्या भएका अग्रज नेताहरुले बद्लिँदो परिस्थिती मनन गर्दै, आफुलाई आर्शिवाद दिने स्थानमा स्वीकार गर्नुपर्दछ र पदीय राजनीतिबाट विश्राम लिँदै आफू संग भएको अनुभवलाई भिजन भएका दोस्रो तहका युवाहरुसँग बाँड्दै खुसी साथ नेतृत्व हस्तान्तरण गर्न बिलम्ब गर्नुहुन्न।

अर्कोतिर आफूलाई सत्ताको बागडोरका निम्ति उभ्याईरहेका युवाहरुले पनि बिरासतको गाथाले वर्तमानको भोको पेट भर्दैन भन्ने कटु सत्यलाई बुझि आफ्ना पार्टीका अग्रज नेताहरुको त्याग र समर्पणको बयान मात्र गर्ने होइन आजसम्म आफूले गरेको सत्कर्म र भावी स्पष्ट कार्यदिशा सहित,नागरिकताका आधारमा नभै कर्म र क्रियाका आधारमा युवा बन्ने संकल्प गर्नुपर्दछ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा जनताले देखाएको अभिमत र निर्वाचित स्वतन्त्र उमेदवारहरु लाई हेर्ने हो भने,अब शैक्षिक योग्यता र नविन संकल्प सहितका जोसिला यूवाहरुको पक्षमा माहोल बन्दै गएको देखिन्छ र यही अनुरुप स्थापित हुन खोजिरहेको सामाजिक मान्यता र मनोविज्ञानमा मुलाधारका ठुला राजनीतिक दलहरुले आफूलाई ढालेर परिमार्जन गर्दै अगाडि बढ्न नसक्ने हो भने,आउँदै गरेको प्रदेश र संघको निर्वाचनमा अनपेक्षित परिणाम त भोग्नु पर्छ नै,सोसँगै बैकल्पिक शक्तिको नारा भँजाएर र स्वतन्त्रको खोल ओढेर धमिलो पोखरीमा माछा मार्ने र खहरे भेलमा ढडिया थाप्दै मुलुकलाई द्वन्द र थप अस्थिरता तर्फ धकेल्न खोज्नेहरुको स्वार्थ सफल हुनेछ। साथै पश्चगमन तर्फ धकेल्ने सुनियोजित षड्यन्त्रको समेत शिकार हुँदै, व्यवस्था माथि कै प्रहार समेत झेल्नु नपर्ला भन्न सकिन्न।

त्यसैले,साँच्चै नै लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरु जोगाउँदै र समयसापेक्ष थप परिमार्जित गर्दै,स्थापित दलहरुले पार्टी भित्रका भरोसायोग्य र आशलाग्दा युवाहरुलाई मुलुकको नेतृत्वको कुर्सी हस्तान्तरण गर्न हिच्किचाउनु हुन्न। त्यसैले अब यसै बस्तुनिष्ठ तथ्य र समय साथै माटोको मागलाई हृदयंङ्गम गर्दै सबै पार्टीले विवेक पुर्याउँदै कम्तिमा ६०% युवाहरुलाई राष्ट्रिय राजनीतिको मुलधार र सरकारमा आउन सक्ने वातावरण बनाएर, खुलेरै अनि भावी प्रधानमन्त्रीको रुपमा पात्र खुलाएरै आगामी निर्वाचनमा जान समयसापेक्ष हिम्मत गर्नुको विकल्पै छैन।