आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना

३ श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशका अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । भोलि शुक्रबार दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना छ । रातमा पनि बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने र पश्चिम तथा मध्य क्षेत्रका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सि शनिबार पनि यस्तै किसिमको मौसम रहने बताइएको छ । बिहान र बेलुका सामान्य वर्षा भए पनि दिउसोपख निरन्तर घाम लाग्ने गरेका कारण तापक्रम वृद्धि भई गर्मी बढेको छ । मनसुनी वर्षा तुलनात्मकरुपमा कम भई चर्को घाम लाग्दा दुई दिनदेखि उतापक्रम बढेको हो ।
काठमाडौँसहित देशभर अझै एक÷दुई दिन गर्मी बढ्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । वायुमण्डल सफा भई घाम सिधा जमीनमा पर्ने भएकाले एक्कासी तापक्रममा वृद्धि आएको हो ।
मनसुन न्यूनचापीय रेखा नेपालको तलतिर रहेकाले अहिले खण्ड खण्डमा वर्षा हुने गरेको छ । आगामी असार ५ गतेदेखि मनसुनी गतिविधि पुनः सक्रिय भई देशको मध्य र पूर्वी भेगमा वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालको भनाइ छ

फेसबुकबाट तपाईको प्रतिक्रिया