काठमाडौं । नेकपा एमाले का सांसद गोकुलप्रसाद बाँस्कोटाले नागरिकतालाई सस्तो नबनाउन संसदको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विश्वका अधिकांश देशमा नागरिकलाई सस्तो बनाउने कुरा नरहेको उल्लेख गर्दै छिमेकी देशहरुबाट सिकेर भएपनि नागरिकताको विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताए ।
उनले हतार–हतारमा नागरिकता विधेयक ल्याउनु गलत भएको पनि बताए । उनले सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जान नहुने बताए । सांसद बाँस्कोटाले नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर दिने कुरो नरहेको बताए ।उनले संविधान बमोजिम नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनः सुधार्नका लागि पठाएको बताए । उनले यदी राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारुढ दलका सांसदहरुलाई चुनौती दिए ।
उनले भने, ‘हतार–हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ । यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन । जनताका आवाज सुन्दैन । सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन । पछि यसका दूरगामी परिणाम देखिन्छन् । नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर हुँदैन । यो नेपाली जाती र नेपाल राष्ट्रका नागरिकहरुले प्राप्त गर्ने कुरा हो ।’
उनले थपे, ‘यसमा कसैको विभेदको दृष्टिकोण छ जस्तो लाग्दैन । आयो के तिर मतलव छैन, तर कसरी आयो रु संविधान बमोजिम राष्ट्रपतिले पठाउनु भयो । यसमा प्रश्न उठाउने रु मिल्छ त्यो रु कि त भन्नुपर्छ । संविधानको यो नियमअनुसार गल्ती छ भने यो पत्र च्यातेर देखाउनुस् न सक्नुहुन्छ रु त्यो त सक्नुहुँदैन । गलत तरिकाले पास नगरौँ । रङ हामीले होइन, तपाईहरुले बदल्नुभएको हो । नागरिकता सरल बनाऔँ, सस्तो नबनाऔँ ।’सांसद बाँस्कोटाले सत्तापक्षले प्रतिपक्षले रङ फेरेको आरोप लगाएको भन्दै रङ प्रतिपक्षले नभइ सत्तापक्षले नै फेरिरहेको दाबी गरे ।