सोमवारलाई सर्‍यो भुवन केसीविरुद्ध परेको रिटको सुनुवाई

प्रकाशित मिति:

भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने मन्त्रिपरिषदको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाई आगामी सोमवारका लागि सरेको छ । यही सोमवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि भदौ २ गते बिहीवार रिट निवेदक र सरकार दुवै पक्षलाई डोकेको थियो ।

सर्वोच्च अदालतले केसीलाई बोर्ड अध्यक्षमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल झिकाउन समेत आदेश दिएको थियो । तर, चलचित्र विकास बोर्डको अध्यक्षमा सिफारिस गर्दा अंकभारको कागजात सूचना तथा सञ्चार मन्त्रालयले नपठाएकाले बिहीवारको सुनुवाई सोमवारलाई सरेको रिट निवेदकतर्फका कानुनी व्यवसायी अधिवक्ता सूर्यबहादुर पाण्डेले जानकारी दिए ।

बोर्ड अध्यक्ष पदका लागि आवेदन दिएका नरेश कुमार पौडेल लगायतले भुवन केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै गत साता सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । २०७९ साउन ९ गते अध्यक्ष पदमा आवेदन दिएका १० जनामध्येबाट मन्त्रिपरिषदको बैठकले भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।