एक साताभित्र सबै फोहोर व्यवस्थापन गर्न मेयर बालेनको निर्देशन

प्रकाशित मिति:

काठमाडौं, भदौ ६ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन्।काठमाडौंका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ।फोहोर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको छ। हाल कामपाको फोहोर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहोर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई आगामी एक हप्ताभित्र फोहोर बञ्चरेडाँडा लैजान निर्देशन दिएका हुन्।

उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहोर उठाउँदै आएको छ। फोहोर उठाउन नागरिकबाट पैसासमेत असुल गर्ने गरिएको छ। निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहोर व्यवस्थापन हुन नसकेको आरोप छ।आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहोर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको दिएको छ।कामपा एक्लैले व्यवस्थापन गर्दै आएका स्थानमा गत मङ्गलबारदेखि नियमितरुपमा उपत्यकाको फोहोर व्यवस्थापन गर्न थालेसँगै कलंकी, कालीमाटी, बल्खु, टेकुलगायतका स्थानको फोहोरको अन्तिम व्यवस्थापनको काम सकिएको छ भने सडक सफा भएका छन्।

फोहोर व्यवस्थापनकै कारण दुई महिनादेखि बन्द रहेको कालीमाटी तरकारी बजारको मुख्य प्रवेशद्वार सञ्चालमा आएको छ। लामो समयदेखि काठमाडौँका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन नसक्दा सडक, चोकमा थुपारिएको फोहोरको डङ्गुरले दैनिकीमा नै समस्या भएको थियो। कालीमाटी तरकारी बजार प्रवेश गर्ने स्थानमा फोहोरका कारण आवतजावत बन्द थियो।दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहोर व्यवस्थापन कार्य हुन थालेको हो।

साविकबमोजिम फोहोर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी एक सातामा यसअघि थुप्रिएको सबै फोहोर अन्तिम व्यवस्थापन स्थलसम्म लगिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो। हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ।पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहोरलाई यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भने गरिरहेको जनाएको छ।हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर उत्पादन हुने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन रहेको छ। यसअघि पनि लामो समय फोहोर जमा भएर बसेको हुनाले अहिले दैनिक ३०० गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन्।