सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप, तीन राउन्ड हवाई फायर, तीन प्रहरी घाइते

प्रकाशित मिति:

जनकपुरधाम, भदौ ७ – सप्तरीको बलान बिहुल गाउँपालिका-४ बेल्हीमा मंगलबार दिउँसो प्रहरी तस्कर समूहबीच झडप भएको छ।भारतबाट तस्करी गरी ल्याइएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा तीन राउन्ड हवाई फायरसमेत गरिएको छ। सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले तस्करी गरी ल्याइएको सामान नियन्त्रणमा लिन गएका प्रहरीविरुद्ध तस्करको समूहले आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको बताए।

घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध भएपछि सुरु भएको विवाद बढ्दै जाँदा प्रहरी र तस्कर समूहबीच दोहोरो झडप भएको हो।तस्करहरूको ढुंगा प्रहारबाट तीन प्रहरी घाइते भएको पनि उनले जानकारी दिए। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए। प्रवक्ता काफ्लेका अनुसार प्रहरीको थप टोली पठाएर तस्करीका सामानहरू बरामद गरिएको छ। भन्सार विभागको टोली पनि घटनास्थलमा पुगेको छ। घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।

थप समाचार