व्यवस्थित सहरीकरण र दिगो पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री
बुटवल, भदौ ११ – प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थित सहरीकरण र दिगो पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।शनिबार संघीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुविधा सम्पन्न सहरी विकास र पूर्वाधारले आर्थिक विकासमा समेत सघाउने भएकाले सरकारले व्यवस्थित सहरीकरण र दिगो पूर्वाधारलाई प्राथमिकतामा राखेको बताएका हुन्।
उनले अव्यवस्थित शहरीकरणले बढाएको समस्यालाई ध्यानमा राखेर दीर्घकालीन योजना बनाउन आग्रह पनि गरे। उनले संघीय शासन प्रणाली भएसँगै यसलाई दिगो बनाउन शहरीकरणमा निश्चित मापदण्ड बनाएर अगाडि जानुपर्ने शहरी पूर्वाधारलाई व्यवस्थित बनाउनुपर्ने अबको योजना रहेको जानकारी दिए। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले दीर्घकालीन विकासमा सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश सहरमा अव्यवस्थित सहरीकरणले मुलुकमा चुनौती थपेको बताउँदै त्यसलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले व्यवस्थित र नयाँ सहरको विकासका लागि र सहरी क्षेत्रका बासिन्दालाई आर्थिक सामाजिक कामका लागि ठोस कार्यक्रम सुरु गर्नुपर्ने उनको भनाइ थियो। योजनाबद्ध सहरी विकासलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो।काठमाडौंजस्ता ठुला सहरमा मानिसको जनघनत्व अनियन्त्रित रुपमा बढेकाले त्यसलाई रोक्न हिमाल र पहाडमा सहर निर्माण गर्नुपर्छ,उनले भने, मुलुक संघीयतामा गएपछि गाउँ र नगरमा पूर्वाधार विकास भएको छ, त्यसलाई दिगो र वातावरणमैत्री बनाउनुपर्छ। प्रदेश र पालिकास्तरमा समन्वय र सहकार्य गरेर सहरी पूर्वाधार विकास गर्नुपर्ने उनले बताए।
लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको बुटवल सम्मेलन केन्द्रले पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सहयोग गर्ने प्रधानमन्त्री देउवाले बताए।उक्त सम्मेलन केन्द्र दुई चरणमा गरी १ अर्ब ११ करोडको लागतमा निर्माण गरिएको हो। पाँच वर्षअघि निर्माण सुरु भएको केन्द्रमा नेपालको झन्डा आकारमा तयार पारिएको छ। केन्द्रमा एकै पटकमा एक हजार जना मानिस अट्ने सभा हल र बैठक कक्षहरू रहेका छन्। ९: ६ बिगाहा क्षेत्रफल जमिनमा बनेको सम्मेलन केन्द्रमा सभा हलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ।