गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजको तीज मिलन

प्रकाशित मिति:

तिलोत्तमा, ११ भदौ । गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजका ज्येष्ठ नागरिक सम्मान तथा तीज मिलन कार्यक्रम गरेको छ । गुल्मीको साविक जोहाङ गाउं विकास समिति (हाल सत्यवती गाउं पालिका)बाट बसाई सराई गरी रुपन्देहीका विभिन्न ठाउंमा स्थायी तथा अस्थायी बसोवास गर्ने जोहाङवासीहरुलाई एकजुट गर्ने र समाजका सदस्यहरुको सुख दुखमा साथ दिने उद्देश्यले गठन गरिएको समाजले विभिन्न सामाजिक र रचनात्मक काम समेत गर्दै आएको छ ।

तीजको अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शँकरनगर बनबाटिकामा शनिवार आयोजित तीज मिलन तथा सम्मान कार्यक्रममा समाजका ३० जना ज्येष्ठ नागरिक र समाजले गरेका समाजिक तथा रचनात्मक कार्यकालागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।समाजले समाज गठन भएको छोटो समयमै समाजका सदस्यहरुवाट आर्थिक सहयोग संकलन गरी शँकरनगर बन बाटिका परिसरमा करिव १३ लाखको लागतमा जोहाङ समाज (पौवा) सेड समेत निर्माण गरेको छ । समाजले सोही ठाउंमा वनबाटिका घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सुविधा र मनोरञ्जनलाई ध्यानमा राखेर सुविधा युक्त शौचालय र टिकटक जोन निर्माणको तयारीमा रहेको समाजका संरक्षक मोतिलाल भण्डारीले जानकारी गराउनु भयो ।

समाजले तीज मिलनकै अवसरमा समाजद्वारा निर्मित जोहाङ समाज (सेड) पौवाको उद्घाटन गरी सोही सेडमा समाजले तीज मिलन र सम्मान कार्यक्रम गरेको हो ।नवनिर्मित भवनको १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले उद्घाटन गर्नुभयो । सो अवसरमा उहांले मानिस जो जहां रहेपनि आफ्नो संस्कार र संस्कृतिलाई भुल्न नहुने बताउनु भयो । संस्कार र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने अभियान अन्तर्गत गुल्मी जोहाङ रुपन्देही सम्पर्क समाजले कुशे औंशीको अवसरमा तीज मिलन र ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्नुका साथै वाटिका घुम्न आउने पर्यटकको सुविधाका लागि सेड समेत निर्माण गरेर उदाहरणिय काम गरेको भन्दै समाजको प्रशंसा गर्नुभयो ।

समाजका अध्यक्ष फर्सुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सत्यवती गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णु प्रसाद भण्डारीले मानिस जो जहां रहेपनि जन्म भूमिको सम्झना सदा रहिरहने बताउनु भयो । उहांले कूल पूजा लगायतका विशेष अवसरमा गाउं फर्केर आफ्नो जन्म भूमि प्रतिको माया ममतालाई पुनर्ताजगी गर्न बसाई सराई गरी रुपन्देही आएका जोहाङवासीलाई आग्रह गर्नुभयो ।समाजका संरक्षक मोतिलाल भण्डारी, उपाध्यक्ष एबं तीज मिलन कार्यक्रमका संयोजक ईश्वरी भण्डारीलगायतले बोल्दै समाज विशुद्ध सामाजिक उद्देश्यले स्थापना गरिएकाले सबै जोहाङवासीलाई समाजमा आवद्ध भएर सामाजिक अभियानमा जुट्न आग्रह गर्नुभयो । सो अवसरमा रमाईलो नाच गान सहित एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै समाजले सहभागिहरुलाई तीजको दर पनि खुवाएको थियो ।