विदा कटौती गरिए विरोधमा उत्रने तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समितिको निर्णय

प्रकाशित मिति:

तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति रुपन्देहीले सरकारले विदा कटौती गरेको विरोध सहितका कार्यक्रम गरि तमु ल्होसार मनाउने भएको छ । गुरुङ राष्ट्रिय परिषदले तमु ल्होसारमा दिइदै आएको सार्बजनिक बिदा सरकारले कटौटी गरेमा आपत्ति जनाउदै तमु ल्होसारका कार्यक्रमहरु पनि आन्दोलनका रुपमा मनाउने जनाएको हो ।
परिषदले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी तमु ल्होसारका अवसरमा गरीने कार्यक्रमका सम्वन्धमा जानकारी गराएको हो । परिषदले पत्रकारसम्मेलनमा कालो ब्यानर बनाएर सरकारको बिरोध गरेको छ । अन्य कार्यक्रम पनि आन्दोलनका रुपमा आयोजना गरीने जिल्ला अध्यक्ष बिमला तमुले जानकारी दिनुभयो ।

परिषदले पुष १० गते रुपन्देहीका बिभिन्न स्थानमा सरसफाई तथा चियापान, ११ गते बुटवल र भैरहवाका अस्पतालमा फलफुल बितरण, १२ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना,१३ गते बुटवलमा रक्तदान, १४ गते बुटवलमा नै बृहत्त झाकि सहित बिरोध र्याली र १५ गते मुख्य दिन बुटवलमै बृहत्तर ल्होसार सार्बजनिक कार्यक्रम गर्ने तय गरेको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भएकाले यस किसिमको विविधतालाई सम्मान गर्दै सबै सामाजिक र धार्मिक समुहप्रति राज्यबाट समान व्यवहार हुनुपर्नेमा वर्तमान सरकारले यस बर्षदेखि सार्वजनिक विदाको सवालमा लिएको निर्णयले अन्यन्तै दुःखित र आक्रोसित बनाएको परिषदका सल्लाहकार भिम गुरुङले बताउनु भयो ।