महाभियोग सिफारिस समितिको छलफलमा पूर्वप्रधानन्यायाधीशहरु नजाने

प्रकाशित मिति:

काठमाडौं, भदौ ३० – सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरु महाभियोग सिफारिस समितिले बोलाएको छलफलमा नजाने भएका छन् ।समितिले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीलाई छलफलमा बोलाएको थियो । तर उक्त छलफलमा जानु उपयुक्त नहुने निष्कर्षसहित नजाने भएका हुन् । आफूहरूले यसबारे आफ्नो धारणा लिखित रूपमै सार्वजनिक गर्ने एक पूर्वप्रधानन्यायाधीशले बताए।

जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बिहीबार बोलाएको थियो । समितिले बोलाएको पत्र पाएपछि बुधबार अपराह्न साढे ४ बजे सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फुलकोर्ट बसेको थियो ।फुलकोर्टले न्यायाधीशहरूलाई महाभियोग सिफारिस समितिमा उपस्थित गराएर सवालजवाफ गर्नु संवैधानिक मान्यताविपरीत हुने ठहर गरेको छ ।निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयान दिने क्रममा ती न्यायाधीशमध्ये कतिपयको व्यक्तिगत आचारणमाथि अमर्यादित टिप्पणी गरेका थिए भने कतिपयलाई राजनीतिक रूपमा प्रभावित भएर फैसला गरेको आरोप लगाएका थिए ।