मुत्यु हुनेको सङ्ख्या २८१ पुग्यो !

प्रकाशित मिति:

कारिता, इन्डोनेसिया, ९ पुस (रासस÷एएफपी) – इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ । ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ । इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीको कारण सोमबार बिहानसम्म २८१ व्यक्तिको मृत्यु भएको छ ।

साथै एक हजार भन्दा बढी घाइते भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिनुभएको छ । यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएको प्रवक्ता सुटोपोले थप जानकारी दिनुभयो । खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने सुटोपोले बताउनुभयो । इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ । शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीहरुले ‘क्राकाटोआ’ नामकरण गरेका छन् । भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् । यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि जुन, अगस्ट र सेप्टेम्बरमा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।