मेरो राजनीतिक यात्रा २०३५ साल फागुनको पहिलो साता तत्कालीन कोअर्डिनेशन कमिटी (झापा विद्रोहपछि बनेको को.के.)को सम्पर्कमा आएपछि सुरु भएको हो । त्यसयता म तत्कालीन नेकपा (मा.ले.) को निर्देशनमा ०३५।३६ को ऐतिहासिक विद्यार्थी आन्दोलनमा सक्रिय हुँदै ०३६ सालमा अन्तर मा.वि. स्ववियू रुपन्देहीको सचिव, ०३७ सालमा अनेरास्ववियू (पाँचौं) रुपन्देहीको सचिव, ०३८।३९ मा दुई कार्यकाल जिल्ला अध्यक्ष, ०४० देखि ०४४ सालसम्म अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य र लुम्बिनी इन्चार्ज, ०४५।४६ को संयुक्त जनआन्दोलनमा संयुक्त बाममोर्चा बुटवलको सचिव भई पञ्चायत विरोधी आन्दोलनमा होमिएको हुँ ।
यसबीचमा पटक पटक प्रहरी र मण्डलेहरुको दमन र आक्रमण बेहोरेको छु । विद्यार्थी आन्दोलन, जनसंघर्ष र जनआन्दोलनमा भाग लिंदा पटक– पटक गिरफ्तारीमा परी प्रहरी हिरासतमा बस्नु प¥यो । बहुदलीय व्यवस्थाको घोषणापछि आफूले आस्था राखेको पार्टी राजनीतिलाई जनस्तरमा स्थापित गराउन पत्रकारिताका माध्यमबाट चार दशक भन्दा बढी समयदेखि योगदान दिदै आएको छु । राजनीतिक यात्राको क्रममा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख हुँदै झण्डै १२ वर्षभन्दा बढी केन्द्रीय प्रचार विभागमा बसेर काम गरें । यसबीचमा पार्टीको जनवर्गीय संगठनको मान्यता प्राप्त प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष हुँदै दुई कार्यकाल केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहेर काम गरें ।
शाही शासन विरोधी आन्दोलन र बाराका पत्रकार वीरेन्द्र शाहको विरोधिहरुबाट भएको कायरतापूर्ण हत्याको विरोधमा देशव्यापीरुपमा आन्दोलन चर्काउने र त्यसलाई निर्णायक तहमा पु¥याउनमा प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्षको हैसियतले त्ययितबेला मैले खेलेको भूमिका लोकतन्त्रका पक्षधर आम नेपालीलाई सर्वविदितै छ । मेरो राजनीतिक यात्राका ४४ वर्षमा ४३ वर्ष मैले संस्थागत निर्णय र संस्थापन पक्षमा खडा हुँदै आएको थिएँ । एक वर्षअघि पार्टीभित्र उत्पन्न द्वन्द्व र विद्रोहपछि म नेकपा एकीकृत समाजवादीमा जोडिएको थिएँ । एक वर्षअघि मैले गरेको विद्रोह र एकीकृत समाजवादीले लिएको नीति र व्यवहारलाई समीक्षा गर्दा विद्रोहको औचित्य पुष्टी नभएकाले म आफ्नो मातृृपार्टी एमालेमा फर्केको छु । म एमालेमा फर्केपछि देशभरका मेरा शुभचिन्तकहरुबाट खुसी, चिन्ता र आलोचना गर्नेहरुको लामो सूची रहेको छ । एउटा सामान्य व्यक्ति नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किदा यति ठूलो चर्चा, क्रिया र प्रतिक्रियाको बाढी नै आउँछ भन्ने मलाई लागेकै थिएन । जुन रुपमा सकारात्मक या नकारात्मक प्रतिक्रियाहरु आए, ती मेरा लागि राम्रो पृष्ठपोषण भएका छन् ।, प्रतिक्रिया दिनुहुने सबै महानुभावहरुप्रति म हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु ।
म किन एकीकृत समाजवादीमा गएको थिएँ ? भन्ने कुरा पनि मैले जिज्ञासा राख्ने मित्रहरुलाई चित्त बुझ्दो जवाफ दिनुपर्दछ । यद्यपि मेरो तर्क र विश्लेषण कसैलाई चित्त नबुझ्न पनि सक्दछ । पहिलो कुरा यसअघि नेकपा माओवादी केन्द्रसंग चुनावी तालमेल गरेर मात्र अगाडि बढ्नु पर्दथ्यो, एकाएक पार्टी एकताको घोषणा गरियो, यो नै त्यतिबेलाको गलत निर्णय थियो । पृथक राजनीतिक दलहरु बीच एकता हुने कुरा दार्शनिक, सैद्धान्तिक र राजनीतिक रुपले मिलेको हुनुपर्दछ । नेता तथा कार्यकर्ताको समुचित व्यवस्थापन गर्नेगरी तारतम्य मिलाइएको हुनुपर्छ । तर, यी कुराहरुलाई ध्यानै नदिई एकाएक पार्टी एकताको घोषणा गर्नु नै बेठीक थियो त्यतिबेला । अझ त्यसमा पनि एउटा पार्टीमा दुई अध्यक्ष रहने परिपाटी झनै गलत थियो । जब प्रस्थानविन्दु नै गलत हुन्छ भने सही गन्तव्यमा पुग्ने प्रश्नै आउदैन । आखिर परिणाम गलत नै आयो र गन्तव्य बेठीक भएको पुष्टी पनि भयो ।
एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बन्नासाथ अन्तरसंघर्ष कडा बन्दै गया । एमालेभित्रको एउटा गुट (माधव नेपाल समूह) र एमालेको संस्थापन पक्ष (के.पी. समूह)बीच राम्रोसँग खेल्ने मौका पाए प्रचण्डले । उनको अभिष्ट पूरा गर्न माधव समूहसँग मिल्दा पार्टी कमिटी र संसदमा समेत बहुमत र अल्पमतको खेल सुरु भयो । यो खेल चरम रस्साकस्सीको स्थितिमा पुग्नु र पछिल्लो समयमा के.पी. ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाटै हटाउने सम्मका खेलहरु हुन थालेपछि दोहोरो शक्ति संघर्षले जवर्जस्त रुप लिएको हो ।पार्टी केन्द्रीय कमिटी, संसदमा पुगेका नेतृत्व गणबीचको गणितीय खेलबाट पार्टी अध्यक्ष हट्नुपर्ने र प्रधानमन्त्री छोड्नुपर्ने जस्तो स्थिति सिर्जना भएको अवस्थामा के.पी. ओलीबाट संसद विघटनको जवर्जस्त कदम चालिएकै हो । यो कदमलाई कानूनी दृष्टिले असंवैधानिक कदमको रुपमा मैले बुझ्दै विरोध गरेकै हो । यही विरोधको सिलसिलामा नेकपा एमालेबाट विद्रोह गरी बनेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य, रुपन्देही इन्चार्ज हुँदै पछिल्लो समयमा मैले उक्त पार्टीको केन्द्रीय अर्थ तथा योजना उपप्रमुखको पदमा रही जिम्मेवारी बहन गरेको पनि हो ।
विद्रोहपछिका एक वर्षको समीक्षा गर्दा जुन उद्देश्य र लक्ष्यका साथ विद्रोह गरी एकीकृत समाजवादी पार्टी बनाइएको थियो, तदनुसार औचित्य पुष्टी हुनसकेन । मेरो विचारमा संस्थापन पक्षका तर्फबाट के.पी. ओलीबाट दुई÷दुई पटक संसद विघटन गर्ने कुरा कानूनी दृष्टिले बेठीक थियो तर जब सिंगो पार्टी नै गलत व्यक्तिको हातमा जाने खतरा हुन्छ भने त्यो जवर्जस्त परिस्थितिमा पार्टीलाई बचाउनका लागि राजनीतिक निर्णयको बाटो अवलम्बन गर्नुपर्ने परिस्थिति सिर्जना भएको अवस्था हो । यसअर्थमा ओलीले चालेको त्यतिबेलाको कदम संवैधानिक दृष्टिले होइन कि राजनीतिक दृष्टिले चालिएको कठोर र साहसिक कदम थियो भन्ने मलाई लाग्दछ । त्यो निर्णय कानूनी हिसाबले बेठीक भएतापनि दार्शनिक, सैद्धान्तिक, राजनीतिक र एमालेको विरासतलाई बचाउने हेतुले गरिएको राजनीतिक निर्णय भएकाले यसलाई के.पी. ओलीको साहसिक कदम मान्न सकिन्छ, जसले गर्दा पार्टी ठूलो दुर्घटनाबाट बच्यो । यस्तो संगीन घडीमा संवैधानिक कुराभन्दा राजनीतिक निर्णय नै मुख्य हुँदोरहेछ भन्ने म ठान्दछु ।
पार्टीभित्रको अन्तरद्वन्द्वका कारण संघीय र प्रदेश सरकार आफ्नो हातबाट फुत्कनु, स्थानीय तहको निर्वाचनमा एमाले भन्दा गठबन्धनका उम्मेदवारहरुले धेरै ठाउँमा जित्नुलाई निश्चितरुपमा कहीँ न कहीँ पार्टी संचालन र समयमै राजनीतिक घटनाक्रमलाई सूक्ष्मढंगले बुझ्न नसक्नु नेतृत्वको कमजोरी अवश्य हो । तर के कुरा बुझ्न जरुरी हुन्छ भने जहिले पनि संवैधानिक प्रश्नले यथास्थितिलाई प्रतिनिधित्व गरेको हुन्छ भने राजनीतिक प्रश्नले समाजको आमूल परिवर्तनको एजेण्डालाई बोकेको हुन्छ ।नेपालमा यतिबेला तीन किसिमको राजनीतिक धारका वरिपरि समाज धु्रवीकृत हुँदै गएको छ । एउटा यथास्थितिवादी धार जुन धारको नेतृत्व रा.प्र.पा. लगायतका समूहले गरिरहेका छन् । अर्को दक्षिणपन्थी, पूँजीवादी र अवसरवादी धार हो । यसको नेतृत्व कांग्रेसले गरिरहेको छ । तेस्रो धार वाम प्रगतिशील धार हो । यसको नेतृत्व गर्ने जिम्मेवारी नेकपा एमालेको हातमा आएको छ ।
त्यसैले अब हामी सबैले विगतमा भएको संसद विघटन, संघीय सरकार र प्रदेश सरकारको फेरबदल तथा स्थानीय तहको निर्वाचनमा भएको क्षतिको गम्भीर समीक्षा गर्दै अग्रगमन, विकास, शान्ति र समृद्धिको सफल नेतृत्व गर्ने गहन जिम्मेवारी एमालेले पूरा गर्नुपर्दछ ।
एमाले बाहेकका अन्य दलहरुको गठबन्धन उनीहरुको बाध्यता हो । त्यस गठजोडभित्र पनि चरम अन्र्तद्वन्द्व भएकाले सोचेजस्तो परिणाम उनीहरुले प्राप्त गर्ने अवस्था देखिदैन । त्यसैले देशभक्त, प्रगतिशील, वामपन्थी र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै शक्तिलाई चिन्दै, बुझ्दै र समेट्दै सबै नेपालीको आशा र भरोसाको जिम्मेवार पार्टी एमाले बन्नुपर्छ । आफूभित्रका कमी,कमजोरीहरुलाई पनि पहिचान गर्दै र हटाउदै जानुपर्छ तब मात्रै भ्रम र अन्धकार हट्दै जान्छ । सूर्य अरु चम्किलो हुन्छ । नेपाल समृद्ध हुन्छ, जनता सुखी र खुसी हुन्छन् । आजलाई यत्ति । भवतु सब्ब मंगलम् ।