बुटवल पुगेर प्रकाण्डले भने :- ‘क्रान्तिको लागि ज्यान हत्केलामा राख्न तयार छौं’

प्रकाशित मिति:

पुष १०, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादखुर विश्वकर्मा प्रकाण्ड पूर्वमन्त्री समेत हुन्, तत्कालिन जनयुद्धलाई संसदवादको भासमा फसाएको भन्दै पार्टीसँग अन्तरसंर्घष देखी विद्रोहसम्ममा विप्लवका सारथी बनेका उनी हालै सरकारले गिरफ्तार गरी देशका विभिन्न ठाउँमा गरी ५१ दिनसम्म हिरासत समेत बसे । अन्ततः उनलाई लगाईएको मुद्दा पुष्टि नभएपछि मुक्त भएका उनी हिरासत मुक्त भएपछि देशव्यापी दौडाहा र भेटघाटमा छन् । क्रान्तिकारी पत्रकार संगठनले आयोजना गरेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्न पश्चिमदेखी बुटवल आईपुगेका उनले पत्रकार सम्मेलनमार्फत पार्टीका धारणाहरु सार्वजनिक गरे । क्रान्तिकारी पत्रकार संगठनले बुटवलमा राखेको पत्रकार सम्मेलनमा उनले बाहिर भ्रम फिजाईएजस्तो आफ्नो पार्टीले कुनै जनयुद्ध वा शसस्त्र क्रान्तिको पक्षमा नरहेको बताए, तर राज्यपक्षले अनावश्यक मुद्दा लगाउने दुख दिने र बन्दुकको बलमा आफ्ना आन्दोलनहरुलाई निस्तेज पार्न खोजे आफूहरु चुप नलाग्ने भन्न पनि उनले छुटाएनन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘राजनीति रुपमा एकिकृत जनक्रान्तिमार्फत देशको व्यवस्था परिवर्तन गरेर जनताको सत्ता स्थापना गर्नको लागि बैज्ञानिक समाजवादको विकल्पसहित संघर्षमा छौं, राज्यले आतंककारीजस्तै व्यवहार गर्छ, अन्य अपराधिक समुहलाई जस्तै व्यवहार गर्छ भने राज्यसँग लड्न तयार छौं ।’ अहिलेको सत्ता कम्युनिष्टको सत्ता नभएको र कम्युनिष्ट आन्दोलन र पार्टीलाई सिद्धाउनको लागी विदेशी प्रतिक्रियावादीले योजनावद्ध रुपमा यो सरकार बनाएर जनतालाई कम्युनिष्ट प्रती भ्रम सिर्जना गर्न खोजेको भन्दै उनले आफूहरुलाई सरकारी नेकपा(नेकपा) भन्दा ठूलो पार्टीको रुपमा रहेको जिकिर समेत गरे ।

देश र जनताको भविष्यको लागि एकिकृत जनक्रान्तिको माध्यमबाट संघर्ष गर्दै जनताको सत्ता बैज्ञानिक समाजवाद ल्याउनको लािग आफूहरु ज्यानलाई हत्केलामा राखेको भन्दै उनले कुनै पनि तत्वले कमजोर बनाउन नसक्ने र आफूहरु निश्चित विजय हुनेमा दृढ रहेको बताए । प्रकाण्डले भने,‘हामिले विगतका कमजोरीहरुबाट धेरै पाठ सिकेका छौं, बदलिदो विश्वपरिवेश र नेपाली मौलिकतामा आधारीत रहेर बैज्ञानिक ढंगबाट नयाँ क्रान्तिको स्वरुप तयार गरेका छौं, अब नेपालमा क्रान्ति कसैले रोकेर रोकिनेवाला छैन ।’उनले आफूहरु सरकारसँग वार्ता गर्न भने तयार रहेको बताए। कुनै समूह नभई दलकै हैसियतमा सम्बोधन भए वार्ता गर्न तयार रहेको उनको भनाई थियो। ‘वार्ताका लागि हामी तयार छौं, तर हामी राजनीतिक हैसियत भएको पार्टी भएकाले त्यहीअनुसार सम्बोधन हुनुपर्छ ’नेता प्रकाण्डले भने । उनले सरकारले वार्ता टोली गठन गरेपनि त्यसको कुनै अर्थ नभएको बताए। विगतमा संविधानसभा र गणतन्त्रका लागि लडेकाहरुलाई आंतकारी भन्नेहरु नै प्रतिगमनकारी भएको बताए।
आफूसहित विप्लवका नेता कार्यकर्ता पक्राउको प्रसंगमा प्रवक्ता विश्वकर्माले सरकारले पुष्टि गर्न नसकेर आफ्नै निर्णयमा असफल भएको तर्क गरे। ‘सरकारले आफूले गरेको कामको जिम्मा पनि लिन सक्दैन, यो भन्दा लाजमर्दो बिषय के हुन्छ’ उनले प्रश्न गरे। सरकारले ६२÷६३ सालको जनआन्दोलनपछि शान्ति प्रक्रियाबाट छुटेका समूहसँग वार्ता गर्ने भनेर भनेकाले त्यो समूहमा नेकपा नपर्ने उनको जिकिर छ। उनले नेकपा जनयुद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारे। ‘हामी जनयुद्धको पक्षमा छैनौ, तर सरकारले बन्दुक देखाउछ भने त्यसका विरुद्ध हामी उत्रन्छौ,’ उनले भने । क्रान्तिकारी पत्रकार संगठनका महासचिव हिम विष्टको सञ्चालनमा भएको सो पत्रकार सम्मेलनको अध्यक्षता संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले गर्नुभएको थियो भने कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका रुपन्देही ईन्चार्ज संगम पुन, नवलपरासी ईन्चार्ज शरद ओली, रुपन्देही सेक्रेटरी अमर आरसी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।