मधेस सरकारबाट कांग्रेसका तीन मन्त्री बर्खास्त

प्रकाशित मिति:

जनकपुरधाम, असोज २८ – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका तीनजनालाई बर्खास्त गरेका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी जसपा का चार मन्त्रीलाई बर्खास्त गरेकै भोलिपल्ट मुख्यमन्त्री राउतले पनि मधेस सरकार तीन मन्त्रीलाई बर्खास्त गरेका हुन्। बर्खास्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन्।

जसपाबाट मुख्यमन्त्री रहेका राउतले ती तीन मन्त्रीलाई फोन गरेर राजीनामा दिन आग्रह गरेका थिए। उनीहरू राजीनामा दिन तयार नभएपछि बर्खास्त गरिएको जनाइएको छ। उनीहरु २०७८ जेठ २६ गते मन्त्रीमा नियुक्त भएका थिए।एकीकृत समाजवादी र माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीलाई पनि बर्खास्त गर्ने तयारी गरे पनि जसपाले कांग्रेसका मन्त्रीलाई मात्र हटाएको हो। अब ती मन्त्रालयहरुको जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने जनाइएको छ।

सत्ता गठबन्धन छाडेर जसपाले नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका थिए। प्रधानमन्त्री देउवाले चालेको कदमको बदलाका रूपमा मधेसमा कांग्रेसका मन्त्री हटाइएको भनी राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ।