धर्म निरपेक्षता गणतन्त्रको प्रमुख आधारः प्रधानमन्त्री ओली

प्रकाशित मिति:

१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताएका छन् ।क्रिसमसडेका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । ‘सनातनकालदेखि बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्वन गर्नेहरुले आ–आफ्नो आस्थाअनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रता समेत सुनिश्चित गरिएको छ,’ सन्देशमा लेखिएको छ ।प्रधानमन्त्री ओलीले क्रिसमस डेका अवसरमा क्रिस्चियन धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायूको शुभकामना पनि व्यक्त गरेका छन् ।