नेपाल टेलिकमको दुरदशा : कल र डाटा दुवैमा गुम्यो आम्दानी

प्रकाशित मिति:

पुष १०, काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले इन्टरनेसनल लङ डिस्टेन्स (आईएलडी) अर्थात विदेशबाट आउने कलको आम्दानी र ब्रोडब्यान्ड इन्टरनेट÷मोबाइल डाटा दुवैमा आम्दानी गुमाएको छ। मोबाइल डाटा र इन्टरनेटको प्रयोग बढ्दै जाँदा आईएलडीमार्फत हुने आम्दानी घट्दै गएको उल्लेख गर्दै आएको टेलिकमले डाटामा पनि आम्दानी गुमाएको छ।टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको ०७४÷७५ को आर्थिक विवरणका अनुसार टेलिकमको आईएलडीमार्फत हुने आम्दानी अघिल्लो आवको तुलनामा करिब एक अर्ब गुमाएको छ। त्यस्तै डाटातर्फ पनि करिब १० करोड कम आम्दानी भएको देखिन्छ। सोही डाटामा अर्को टेलिफोन सेवाप्रदायक कम्पनी एनसेलले ०७३÷७४ को तुलनामा करिब दुई अर्बको हाराहारी कमाएको छ।
प्राधिकरणमा कम्पनीले बुझाएको वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाल टेलिकमकले ०७४÷७५ मा आईएलडीमार्फत कुल आठ अर्ब चार करोड ४१ लाख आम्दानी गरेको छ। त्यस्तै इन्टरनेट÷डाटामार्फत सात अर्ब ८१ करोड ३३ लाख। यसअघि ०७३÷७४ टेलिकमकले सोही शीर्षकमार्फत क्रमशः नौ अर्ब तीन करोड १२ लाख र सात अर्ब ९० करोड ८४ लाख आम्दानी गरेको थियो। टेलिकमका साथै आईएलडीमा यो वर्ष एनसेलले पनि ठूलो आम्दानी गुमाएको छ। एनसेलले ०७४÷७५ मा आईएलडीमार्फत १४ अर्ब ८८ करोड १३ लाख आम्दानी गरेको छ। जुन ०७३÷७४ को तुलनामा दुई अर्ब १२ करोड ८२ लाख कम हो। ०७३÷७४ मा एनसेलले १७ अर्ब ९६ लाख आम्दानी गरेको थियो। तर, एनसेलले आईएलडीमार्फत गुमाएको आम्दानी डाटामार्फत उठाएको छ। एनसेलले ०७३÷७४ को तुलनामा एक अर्ब ८८ करोड २६ लाख बढी आम्दानी गरेको छ। दुवै ठूला कम्पनीले विदेशबाट आउने कलको शुल्कबापत हुने आम्दानीमा यो वर्ष कुल तीन अर्ब ११ करोड ५४ लाख गुमाएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले आईएलडी र डाटा दुवैको आम्दानी एकै पटक घट्दै जानुले नेपाल टेलिकमको दुरदशालाई दर्शाएको बताए। ‘पक्कै पनि आम्दानीको मुख्य स्रोत विदेशबाट आउने भ्वाइस कलको गिरावटले कम्पनीको वार्षिक आम्दानीमै असर परेको छ’, खनालले भने, ‘तर, आईएलडीमार्फत हुने आम्दानी घट्दा मोबाइल डाटा र इन्टरनेटको प्रयोग बढ्दै जानुपर्नेमा टेलिकमले गुमाएको छ। यसले टेलिकमलाई ठूलो असर पर्नेछ।’

सेवा प्रदायक कम्पनीका अनुसार अन्तर्राष्ट्रिय कलमार्फत आम्दानीमा हुने गिरावटले टेलिफोन सेवा प्रदायक कम्पनीको आम्दानी २५ प्रतिशतसम्म घटेको छ। यसको मुख्य कारण ओभर द टप (ओटीटी) भएको प्राधिकरणका वरिष्ठ निर्देशक खनाल बताउँछन्। उनका अनुसार ओटीटी कुनै इन्टरनेट प्रोभाइडरअन्तर्गत रहेर प्रदान गर्ने एप भाइबर, स्काइप ह्वाट्सएप, म्यासेन्जर, आईएमओलगायत सामाजिक सञ्जाल हुन । यसको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायकको आम्दानी खस्किएको हो। हाल भिडियो हेर्न टेलिभिजन, फोन तथा डाटा र म्यासेजका लागि गर्नुपर्ने अवस्थामा परिवर्तन भएको छ। अहिले हातमा स्मार्टफोन र इन्टरनेट छ भने एकै ठाउँबाट फोनकल, भिडियो कल, भिडियो हेर्न, म्यासेज गर्ने सकिने भएको छ। ‘यसको असर टेलिकम कम्पनीमा देखिएको स्वभाविक हो’, खनालले भने, ‘तर, सँगै डाटाबाट हुने आम्दानीमा पनि कमी हुनुले टेलिफोन व्यवसाय नै समस्यामा रहेको देखाउँछ।’नेपाल टेलिकमका सहप्रवक्ता सोभन अधिकारी पनि टेलिकमको डाटाबाट हुने आम्दानीमा यो वर्ष कमी भएको स्वीकार्छन्। विश्वव्यापी रूपमै डाटाको प्रयोग बढ्दै जाँदा भ्वाइसको प्रयोग घट्दै गएको छ’, अधिकारी भन्छन्, ‘त्यसैले आईएलडीमा कम्पनीले आम्दानी गुमाएको हो।’ टेलिकमको यो वर्ष डाटामा आम्दानी कम हुनुको कारण पछिल्लो समय डाटा ट्यारिफमा आएको ठूलो परिवर्तन भएको उनले बताए। उनले भने, ‘प्याक खरिद गरी डाटा प्रयोग गर्दा डाटाको शुल्क १४ पैसा प्रतिएबीसम्म पर्नजान्छ।अहिले ग्राहक सबै प्याक खरिद गरेर डाटा प्रयोग गर्ने भएकाले डाटामा अघिल्लो वर्षको तुलनामा आम्दानी केही कम भएको हो।’ साथै टेलिकमले डाटामा ५० प्रतिशत बोनस पनि प्रदान गरेको छ। अर्कोतर्फ एडीएसलको ट्यारिफमा आएको कमी पनि कारण भएको अधिकारी बताउँछन्। उनका अनुसार टेलिकमले यो वर्ष एडीएसएलको ट्यारिफ पनि एक हजारबाट घटाएर आठ सय पु¥याएको छ।