
बौद्धदर्शनलाई सञ्चारको आँखी झ्यालबाट निरीक्षण- ऋषिराम भुसाल, सहप्राध्यापक,त्रि.वि.
बौद्धदर्शन र सञ्चार’ शीर्षकको यो ठूलो गहकिलो ग्रन्थ अग्रज पत्रकार तथा बुद्धिजीवी, मेरो अध्यापन कालका असल छात्रसमेत रहेका डा. बालकृष्ण चापागाईंले विद्यावारिधिको प्रयोजनका लागि गहन अध्ययन र कठिन साधनापूर्वक तयार गर्नु भएको मूल्यवान् कृति हो । वि.सं. २०७८ असार २८ का दिन लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यावारिधि उपाधिका लागि स्वीकृत गरेको जम्माजम्मी ३५३ पृष्ठको शोध प्रबन्धको सम्पादित र परिमार्जित रुपमा यो कृति तयार भएको हो । यसअघि पत्रकारिता सम्बन्धी दुई पुस्तक प्रकाशित गरिसकेका डा. बालकृष्ण चापागाईंले अहिले ‘बौद्धदर्शन र सञ्चार’ मा केन्द्रित रहेर निकै गहन र फराकिलो विषयमा कलम चलाउनु भएको छ । वहाँलाई धेरै बधाई छ ।
विश्व मानवताका अमर विभूति विश्वज्योति गौतम बुद्ध मानव–आत्मालाई प्रर्वाग्रहरहित स्वतन्त्र दृष्टिकोणले अवलोकन गर्ने, निरीक्षण गर्ने र बुझ्ने बैज्ञानिक हुन् अनि जगत, जीवन, समाज र हाम्रा सम्बन्धलाई प्रेम (मैत्री) र करुणाका आधारमा व्याख्या गर्ने यति उचाईको पहिलो सन्त हुन् । अरहन्त हुन् र सम्यक् सम्बन्ध हुन् भने मानवजातिलाई आत्मबोध र आत्मोन्नतिको बोधिमार्ग निर्देश गर्ने अद्वितीय महत्ता तथा भगवत्तायुक्त महामानव हुन् ।
यसै अर्थमा उनी भगवान् हुन् । विभिन्न अवस्थामा आचार्यहरुसंग उच्च मनोयोगका साथ सिकेको शिक्षा, वर्षौंसम्मको कष्टकर तपस्या, आफ्नै समाज र परिवेशका े यथार्थ अवलोकन , गहन र सूक्ष्मतम् आत्मनिरीक्षण एवं आग्रहरहित स्वतन्त्र चिन्तनका जगमा उनको दार्शनिक दृष्टिकोणको भव्य प्रासाद उभिएको छ । दुस्साहसका साथ अति सङ्क्षेपमा भन्नुपर्दा बुद्धको दर्शन पञ्चशील, मध्यममार्ग, चार आर्यसत्य, आर्यअष्टाङ्ग मार्ग, कारणवादमा आधारित प्रतीत्यसमुत्पाद, पारमिता ( थेरवादमा १० पारमिता र महायानमा ६ पारमिता), शमथ र विपश्यना संयुक्त भएको चार स्मृति प्रतिष्ठान ( सतीपट्ठान) आदिका केन्द्रस्थल वरिपरि घुमेको छ भन्न सकिन्छ ।यिनै सारतत्वका सेरोफेरोमा विभिन्न नीति वचनहरु, राजधर्म, गृहस्थधर्म तथा मानव चरित्रका विशेषताहरु समेटिएका छन् । यी सिद्धान्तहरु यस कृतिका केन्द्रीय पक्ष नहोलान् तर मानवको सञ्चार कार्यले बौद्धदर्शनबाट प्राप्त विषय सामग्रीका रुपमा यिनको महत्व निर्विवाद नै छ । बुद्धका यी ज्ञानरत्नहरु विभिन्न देश, काल र परिवेशहरुमा कसरी सञ्चारित, प्रचारित र प्रसारित भए भन्ने कुराको विवरण पनि यस कृतिको विषयगत परिधिभित्रको कुरा हो ।
बौद्धदर्शनले दर्शन र धर्मका अतिरिक्त अर्थ, न्याय, सँस्कृतिलगायत मानव जीवनका विभिन्न पक्षलाई समेटेको र प्रभावित पारेको छ । त्यसै अनुरुप विद्वान्, लेखक तथा अनुसन्धानदाताहरुले विभिन्न कोणबाट अध्ययन, अन्वेषण र चिन्तन गरी प्रकाशनमा पनि ल्याएका छन् तर बौद्धदर्शनसंग सञ्चार क्षेत्रलाई एकीकृत रुपमा अध्ययन गर्ने कार्य प्रायः नभएको अवस्थालाई अवगत गरी उक्त अभावलाई मेटाउने शिवसङ्कल्पका साथ डा. बालकृष्ण चापागाईंले यो शोधकार्यको जिम्मेवारी लिनुभयो । विश्वमा आज सम्ममा विकसित र प्रचलित रहेका सञ्चारका प्रकारहरुमा बौद्धदर्शन र धर्मको प्रचारमा के– कस्ता विधिहरु अवलम्बन गरिए ? भन्नेमा यस कृतिमा चासो राखिएको छ ।
सूचना, विचार तथा भावानुभूतिको आदानप्रदान गर्ने कार्य सञ्चार हो । यसलाई समग्रमा अन्तर्मुखी(अन्तः वैयक्तिक), अन्तर–वैयक्तिक, समूहगत एवम् आम सञ्चारका रुपमा फरक प्रकारहरुमा देखाईएको छ । यस कृतिभित्र सञ्चारका तिनै रुपहरु बौद्धदर्शनको विकास र प्रचारमा कसरी प्रयुक्त भए ? भन्ने चर्चा गरिएको छ । यस क्रममा सञ्चार भनेकै भाषिक सञ्चार हो भने जस्तो गरी गैर – भाषिक सञ्चार कार्यलाई अलिक छायामा पारेको देखिन्छ । वास्तवमा सञ्चार व्यवस्थाले मानवीय क्रियाकलापको निकै फराकिलो सन्दर्भको माग गर्दछ । वन्ययुगीन मानिसका गुफाचित्रहरु र तिनले उपयोग गरेका श्रमका औजार र आत्मरक्षाका हतियारहरुले पनि एक प्रकारको विचार आदानप्रदान गरेका छन् ।
शिलालेख मात्र होइन, पाषाणस्तम्भहरु पनि सञ्चारका उपकरण हुन् । शील प्राथनामात्र होइन भिक्षु– भिक्षुणीले धारण गर्ने काषयवर्णका चीवर र खौरेका शिरहरु पनि सञ्चारको सञ्जालमा गांसिन्छन् । ध्यानमग्न बुद्ध, दाहिने कोल्टो सुतेका बुद्ध, धर्मदेशना गरिहेका बुद्ध वा कठोर तपस्या ( दुष्कर चर्या) मा लागेर हाडछालामात्र देखिएका सिद्धार्थले पनि बौद्धदर्शनको सञ्चार गरेका छन् । स्वयम्भूका आँखा, शान्तिस्तुप, नवजात बुद्धका सात पाइला, उन्मत्त हात्तीका सामु शान्तबुद्धको उपस्थितिलगायत अनेकांै चित्र मूर्ति र भौतिक संरचनाहरु पनि सञ्चारका साधनहरु नै हुन् । यतिमात्र किन, आध्यात्मिक, धार्मिक अनुष्ठानका प्रयोगात्मक विधिहरु, व्रत– उपासना र नित्यकर्मका विविध रुपहरु तथा विकाल भोजन ( मध्याह्नपछि भोजन) नगर्ने भिक्षुचर्या पनि सञ्चारकै माध्यम बनेका छन् । सञ्चारको मूल प्रभाव निश्चय नै भाषिक सञ्चार हो । यसको अभावमा अन्य उपकरणहरु निस्तेज नै हुन्छन् । भाषिक सञ्चार अनुकरणात्मक र भावोत्तेजक ध्वनीहरुबाट सुरु भएर सार्थक मौखिक शब्द हुँदै लेख्य र मुद्रित अभिव्यक्तिसम्म आएको छ । अक्षरहरुले मौखिक भाषालाई अक्षर (अविनाशी) बनाएका छन् भने देश र कालमा सीमित भाषालाई असीमित ऊर्जा प्रदान गरेका छन् तापनि लेख्य र उच्चार्य भाषाले मानिसका सम्पूर्ण भाव– विचारलाई यथाभूत प्रतिबिम्बित वा सङ्केत गर्न सम्भव नभएर होला शरीरका विभिन्न गतिविधि र मुद्राहरु पनि प्रयोगमा ल्याइन्छन् । यस कृतिमा लेखकले सञ्चारका गैर– भाषिक माध्यमका बारेमा त्यति प्रकाश पार्नुभएको छैन । उच्चार्य ध्वनी, शब्द, वाक्य र महावाक्य ( कुनै विषयको पूर्ण सङ्कथन) का मौखिक र अभिलिखित रुवरुपकै प्रयोगमा प्रस्तुत ग्रन्थको सीमाङ्कन भएको छ ।
सञ्चारको त्यसमा पनि अझ बौद्ध दर्शनमा सञ्चारको भूमिकाको चर्चा गर्दा विचारणीय पक्षका रुपमा सञ्चार – अवरोध ( अयmmगलष्अबतष्यल दबचचष्भच) देखापर्छ । अवरोध बाह्य र आन्तरिक दुवै पक्षमा रहन्छन् । अवरोधले गर्दा उपदेष्टाको उपदेश कार्यमा व्यवधान आइपर्छ, शिष्यको ज्ञानार्जन कमजोर हुन्छ भने साधकको साधना त्रुटियुक्त, विखण्डित र असफल हुन्छ । ‘अरञ्जगतो वा रुक्खमूलगतो वा सुञ्चागारगतो वा ( महासतिपट्ठानसुत्त, आनापानपब्ब)’ भनेर तथागत बुद्धले बाह्य अवरोध औल्याएका छन् भने आत्मसंयमका बारेमा विशेषतः ‘ नीवरण’ अन्तर्गत ज्ञानप्राप्तिका अभ्यन्तर अवरोधहरुको प्रशस्त चर्चा गरिएको छ । एक बौद्ध साधकले अन्तः व्यक्तिक सञ्चारको निकै उच्च तहको दक्षता प्राप्त गर्नैपर्ने आशय बौद्धदर्शनका सबै आगम ( मूल आधिकारिक ग्रन्थ ) हरुमा भेट्न सकिन्छ । ध्यान वा समाधि भित्री सञ्चारको उच्चतम् तह हो । हामीले आम सञ्चार तथा पत्रकारिता अध्ययन गर्दा स्वगतःकथन, आत्ममन्थन, तर्कवितर्क आदिलाई नै अन्तःव्यक्तिक सञ्चार भनेर प्रायः एक अनुच्छेद भित्रै त्यसलाई सीमित पार्दछौं । परन्तु आध्यात्मिक साधनाका चरणहरुमा यसको व्यापक, गहन र उच्च अवस्थाको अनुभूति(सम्प्रज्ञान) साधकले गर्दछ । अरु व्यक्तिसंग वहस– विवाद गर्न भन्दा आफैभित्रको दुधर्ष विवादहरुको समाधान कति कठिन हुन्छ भन्ने कुरा आनापानसति र विपश्यनाको प्रारम्भिक साधकले पनि प्रशस्त बुझेको हुन्छ । आफै भित्रका दुर्दान्त वहस, विवाद, तन्द्रा, वितर्क, हठी, आग्रह, पूर्वाग्र आदिको सामना गरेर प्राप्त गरिने महामौनता र चित्त साम्यताको प्रत्यक्षानुभूति भनौ वा परोक्षानुभूति नै समाधिको उन्नत अवस्था होइन र ? यसको कलात्मक चित्रण साहित्यका विधाहरुले गरेका छन् , यसको विश्लेषण आजका मनोविज्ञानका विभिन्न शाखाहरुले गरेका छन् । परन्तु प्राचिन कालदेखि २१ औं शताब्दिसम्म पनि अन्तः संवादको उच्चतर अवस्थाका बारेमा बौद्धदर्शलगायत अनेकौ आध्यात्मिक दर्शनले अभ्यास गरेका छन् । यस क्रममा बौद्धदर्शन, चिन्तन र साहित्यले विशेषत सञ्चारका आन्तरिक मनोगत अवरोध (बाधक तत्व) को विषयमा गहन र प्रखर विमर्श गरेको छ ।
बौद्धदर्शन सिद्धार्थजस्ता माहामानवका महत्तम प्रयत्न र अन्वेषणको उपज हो । तर ज्ञानको प्रामाणिकतामा महामानववादको विरोध स्वयम् बुद्धले नै गरेका छन् । बौद्ध अनुष्ठान र तपस्याका क्रममा साधकले संज्ञान र अनुभूतिको अलौकिक ( सामान्य मानिसमा नभएका विशिष्ट) सिद्धि प्राप्त गर्दछ भन्ने मान्यता छ । ( यो कुरा वैदिक दर्शनहरुमा पनि पाइन्छ ) । उच्च तहमा पुगेको साधकहरुमा निकै टाढाका कुराहरु सुन्न सक्ने, प्रत्यक्ष नरहेका ठाउँ र वस्तुहरु देख्न सक्ने ‘दिव्य शक्ति रहन्छ, उसको समाहित चित्तले विश्वका सूक्ष्म शक्तिहरुसंग संवाद कायम गर्दछ भन्ने मान्यता बुद्धको चिन्तनमा पाइन्छ । आजको विज्ञानले यी कुरा सहजै स्वीकार नगर्ला तर सूक्ष्मतर भौतिकीको अध्ययनमा अघि बढेको आजको विज्ञानका लागि यो कुरा असम्भव कल्पना पनि नहोला – भविष्यको भौतिक शास्त्र र मनोविज्ञानका लागि यो वैश्विक सञ्चार ( अयकmष्अ अयmmगलष्अबतष्यल) एक महत्वपूर्ण प्राक्कल्पना ( जथउजयतजभकष्क) बन्नेछ । हरेक नौलो अनुसन्धान र आविस्कार एक न एक प्राक्कल्पना (पूर्वानुमान) मा उभिएर नै सम्पन्न हुने गर्दछ । अहिलेसम्म आत्मिक वा आध्यात्मिक ऊर्जाको विषय स्वगत सञ्चार ( मनोगत अन्तर्मुखी, आत्मगत, निजात्मक, अभ्यन्तर वा अन्तः व्यक्तिक सञ्चारको रुपमा नै रहेको छ । त्यसले वस्तुगत प्रयोग, स्वतन्त्र र खुला छलफल एवं छानविनको अवस्था प्राप्त नगरी परम्परागत धार्मिक विश्वासकै चौकिल्लामा सीमित रहेको छ । परन्तु एक्काइसौं शताब्दीको विज्ञान – प्रविधिका लागि भलै रहस्यवादी देखिए पनि एक सम्भावित प्राक्कल्पना यस सञ्चार विधिले प्रदान गर्नेछ ।
प्रस्तुत कृतिमा डा. बालकृष्ण चापागाईंले बौद्धदर्शनलाई सञ्चारको आँखी झ्यालबाटै निरीक्षण गर्नुभएको छ । विषय ,विधि र नीतिका आधारमा तथ्यहरु र आफ्ना धारणाहरुको विनियोजन गरिएको छ । विषय अन्तर्गत, बौद्धदर्शनको सारवस्तु यसका सान्दर्भिक प्रकीर्ण विचारहरुसहित सङ्क्षेपमा प्रस्तुत गरिएको छ । विधि अन्तर्गत उक्त विषयलाई बुद्ध स्वयम्ले उनका समकालीनहरुले र उत्तरवर्ती अरहन्त, भिक्षु र श्रद्धालुहरुले के कसरी कस्ता विधि प्रविधि प्रयोग गरेर फैलाउने काम गरे ? भन्ने कुरा फरक– फरक अध्यायहरुमा प्रस्तुत गरिएको छ । यसमा नीति अन्तर्गत, शान्ति सिद्धान्त अथवा भनौं शान्ति सञ्चारको अवधारणा अन्तर्गत बौद्धदर्शनले सञ्चार जगत्लाई गरेको मार्गदर्शन र प्रस्तुत गरेको आदर्शलाई यस ग्रन्थमा व्यक्त गरिएको छ । बौद्धदर्शन र बौद्ध आदर्शको आलोकले सञ्चारजगत् समग्रलाई उन्नत,आलोकित र सार्थकतुल्याउन सक्छ तथा विश्वको सम्पूर्ण शान्तिका लागि सञ्चारमा बौद्ध आदर्शको परिपालना अपरिहार्य भएको छ भन्ने निष्कर्ष यस अनुसन्धान ग्रन्थले प्रस्तुत गरेको छ । बौद्धदर्शनको शिखरबाट सञ्चार जगत्को निरीक्षण गर्ने तथा सञ्चारको विस्तृत मैदानबाट बौद्धदर्शनको निरीक्षण गर्ने महत्वपूर्ण कार्य गरेर डा. बालकृष्ण चापागाईंले निकै उत्कृष्ट प्राज्ञिक कार्य गर्नुभएको छ । एकातिर प्राचीन भएर पनि नित्यनवीन महत्वको बौद्धदर्शन र अर्कातिर प्रागैतिहासिक सुरुवात भए पनि आधुनिक युगमा आश्चर्यजनक ढंगले विकसित सञ्चार कार्य – यी दुबैलाई आत्मसात् गरेर अघि बढ्नु आफैमा एक तपस्या हो । त्यस चुनौतीलाई स्वीकार गरेर उभिनु भएको छ । मेरा मित्र डा. बालकृष्ण चापागाईं ।
यस्तो मूल्यवान् ग्रन्थका लागि म वहाँलाई पुनः बधाई एवम् धन्यवाद दिंदै वहाँको समुज्ज्वल प्राज्ञिक भविष्यको शुभाशंसा प्रकट गर्दछु ।
मंगलं होतु सब्बथो । (पुस्तकको भूमिकाबाट)