भ्रष्टाचारको अभियोग लागेका चूडामणि शर्मा पहिलो नम्बरको सहसचिव !

प्रकाशित मिति:

पुस १०, काठमाडौं– तत्कालीन कर फर्छ्यौट आयोगमा रहँदा अनधिकृत रुपमा भ्याट छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका चूडामणि शर्मा निजामति सेवाअन्तर्गत राजपत्राकिंत प्रथम श्रेणी (सहसचिव)मा बरियताको पहिलो नम्बरमा परेका छन् । आन्तरिक विभागको महानिर्देशक हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका शर्मा ६१ दिन हिरासतमा बसेका थिए । अख्तियारले कर छुट प्रकरणमा शर्माविरुद्ध ३ अर्ब बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा पनि अख्तियारले विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ । विशेष अदालतले धरौटीमा रिहा गरेका शर्मा हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त) समूहमा छन् । कर्मचारी समायोजन प्रक्रिया शुरु गरेको सरकारले समायोजन प्रायोजनका लागि सहसचिवहरुको सूची तयार पारेको हो । निजामति कितावखानाले तयार पारेको उक्त सूचीमा शर्मा वरिष्ठताको आधारमा पहिलो नम्बरमा छन् । उनीपछि कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सचिव राम प्रसाद थपलिया दोस्रो नम्बरमा छन् । हालै जारी भएको कर्मचारी समायोजन अध्यादेशले ज्येष्ठतालाई समायोजनको पहिलो आधार मानेको छ ।
सहसचिवहरुमध्ये धेरै जना संघमा समायोजन हुने देखिन्छ । प्रदेश र स्थानीय तहमा भने संघबाट खटाइने छ । यसरी खटाइँदा सम्भव भएसम्म ज्येष्ठतालाई आधार बनाइने अध्यादेशमा उल्लेख छ ।