काठमाण्डुको तापक्रम दुई डिग्रीमा झर्यो, सतर्क रहन आग्रह

प्रकाशित मिति:

काठमाण्डु, १० पुस – राजधानी काठमाण्डुको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डुको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाण्डुको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अबको केही दिन न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा रहने हँुदा अझै चिसो बढ्ने उल्लेख गरे । ‘अहिले जाडोको मध्य अवस्थामा छौँ, जनवरी महीनामा बढी चिसो हुने गर्छ, त्यसैले चिसोबाट सजग हुनुपर्ने देखिन्छ’, उनले भने ।

न्यूनतम तापक्रम घटे पनि बिहानैदेखि सफा घाम लागेकाले सर्वसाधारणले केही राहत महसुस गरेका छन् । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस पुगेको छ । त्यसैगरी दीपायल, डडेल्धुरा र वीरेन्द्रनगरको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा धेरै विराटनगरको न्यूनतम ९.५ र अधिकतम तापक्रम २६।४, सिमराको न्यूनतम ५ र अधिकतम तापक्रम २६.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ यसैबीच मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । रातको समयमा पनि आंशिकदेखि सामान्य बदली रहने छ भने पश्चिमी क्षेत्रका उच्च हिमाली भेगका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि बुधबार पनि देशका पश्चिमी तथा मध्य भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र पूर्वी पहाडी भेगमा सामान्य बदली रहने छ । देशको पश्चिमी तथा मध्य उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले औँल्याएको छ ।