काठमाडौं, मंसिर ७ : प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले बुधबार साँझसम्म विभिन्न जिल्लाका १६ निर्वाचन क्षेत्रमा विजय हाँसिल गरेको छ ।प्रधानमन्त्री समेत रहेका पार्टीका सभापति शेर बहादुर देउवा डडेलधुराबाट सातौं पटक सांसद चुनिए । उनले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई झण्डै दोब्बर मतान्तरले पराजित गरे । देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत ल्याए । यहाँ नेपाली कांग्रेस (बी.पी) का कर्ण मल्लले ७ हजार ५३५ मत पाए ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट निर्वाचित भएका छन् । उनले १४ हजार २७५ मतान्तरसहित एमालेका अग्निप्रसाद खरेललाई पराजित गरे । शर्माले ३९ हजार ६२४ मत प्राप्त गरे भने खरेलले २५ हजार ३४९ ल्याए। ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार रामहरी खतिवडा विजयी भए । उनले एमालेका यज्ञ राज सनुवारलाई ६ हजार८१८ मतान्तरले पराजित गरे । खतिवडाले ३३ हजार ५५६ मत ल्याउँदा सुनुवारले २६ हजार ७३८ मत पाएका थिए ।
एकमात्र निर्वाचन क्षेत्र भएको रसुवामा पनि कांग्रेसले जित हासिल गरेको छ । यहाँ कांग्रेसका मोहन आचार्य १८ हजार २३५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी छोवाङ तेन्जीन तामाङले ८ हजार ६१४ मत पाए । निकै चासोका साथ हेरिएको काठमाडौं–१ मा नेपाली कांग्रेसले संघर्षपूर्ण जित निकाल्न सफल भयो । यहाँ राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गर्दै कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भए । सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७०१८ मत पाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ४ हजार ११५ मत ल्याउँदा नेकपा एमालेका किरण पौडेलले ३ हजार ५३२ मत ल्याए ।
त्यस्तै काठमाडौका क्षेत्रनम्बर ३, ४, ५, र १० मा पनि कांग्रेसका उम्मेदवार निर्वाचित भए । ३ मा एमालेका कृष्णबहादुर राईलाई करिब ४ हजार मतान्तरले पराजित गर्दै कांग्रेसका सन्तोष चालिसे निर्वाचित भए । चालिसेले १५ हजार १५८ मत ल्याउँदा एमालेका राईले ११ हजार १९६ मत ल्याए। त्यस्तै ४ बाट महामन्त्री गगनकुमार थापा भारी मतान्तरले विजयी भइसकेका छन् । उनले २१ हजार ३०२ मत ल्याउँदा राजन भट्टराईले १३ हजार ८५५ मत ल्याए । क्षेत्र नम्बर ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलाई झन्डै ५ हजार मतान्तरले पराजित गर्दै कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेल निर्वाचित भए । १५ हजार २३७ मत ल्याएर पौडेल निर्वाचित हुँदा पोखरेलले १० हजार १७५ मत पाए ।
काठमाडौंकै निर्वाचन क्षेत्र १० मा पनि कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । यहाँ राजेन्द्र कुमार केसीले १४ हजार ४५८ ल्याएर निर्वाचित हुँदा एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट ८ हजार ७२६ मत ल्याउँदा राप्रपाका बलराम थापाले ६ हजार ५६ मत ल्याएका छन् । ललितपुर–१ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबरा निर्वाचित भएका छन् । जबराले २३ हजार ९९२ मत पाएका छन् । उनले एमालेका नवराज सिलवालले १९ हजार २६६ मत पाए ।
पर्साका निर्वाचन क्षेत्रनम्बर १, २ र ४ मा पनि कांग्रेसले बाजी मारेको छ । क्षेत्र नम्बर १ मा कांग्रेसका प्रदीप यादव २२ हजार ५३७ मत ल्याउँदै विजयी भए । त्यहाँ स्वतन्त्र उम्मेदवार अजय कुमार द्वीवेदीले २० हजार ९१७ मत पाए ।क्षेत्रनम्बर २ मा कांग्रेसका अजयकुमार चौरसिया निर्वाचित भएका छन् । उनले २८ हजार ४१५ मत पाउँदा एमालेको समर्थन रहेका जसपा उम्मेदवार सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत पाए।त्यस्तै पर्सा–४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् । रिजालले म ३१ हजार १४२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जालिम मियाँ मंसुरीले २५ हजार ६१२ मत पाए ।तनहुँ–२ मा कांग्रेसका उम्मेदवार शंकर भण्डारी ३० हजार ६०४ मतसहित विजयी भए । त्यहाँ एमालेका किरण गुरुङले २५ हजार १३० मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३ मत पाए ।
त्यस्तै मनाङ–१ २ हजार ५७५ मतसहित कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भए । त्यहाँ नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २४७ मत पाए । मुस्ताङबाट निर्वाचित भएका कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले ३ हजार ९९२ मत पाउँदा एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याए ।सुर्खेत–२ मा नेपाली कांग्रेसका हृदयराम थानी ३४ हजार ६२५ मतसहित वियजी भएका छन् । त्यहाँ नेकपा एमालेका अमृत बहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत ल्याए । मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्य ४१ स्थानमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।