सरकारलाई कसैको रोकतोक छैन : नेता पौडेल

प्रकाशित मिति:

काभ्रेपलाञ्चोक, १० पुस । नेपाल काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताउनुभएको छ । अरनिको मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको आज बनेपामा शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई तिहाईको सरकार छ, उसलाई यो अवसर र मौका पनि हो ।” वरिष्ठ नेता पौडेलले सरकारले गति लिन नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सरकारलाई कसैको विरोध नहुँदा किन काम गरिरहेको छैन, कुहिरोको कागझैं भएको छ ।”

नेता पौडेलले सरकारले संविधानअनुसार वित्तीय आयोग नबनाएको गुनासो गर्नुभयो । उहाँले “वित्तीय आयोग बनाएर स्थानीय तहको अनुगमन, मूल्याङ्कन गर्नुपर्छ,” भन्नुभयो । नेता पौडेलले काङ्गे्रसले महासमिति बैठकका बेला नमूना विधान बनाएको बताउनुभयो । “तलदेखि माथिल्लो निकायसम्म निर्वाचनमा जाने हाम्रो विधानको प्रमुख पाटो हो, यसबाट अरुले सिक्नुपर्छ”, उहाँले भन्नुभयो ।

पूर्वराज्यमन्त्री लालध्वज तामाङले सत्यतथ्य समाचार जनताको बीचमा पु¥याउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादेले तीनै तहका सरकारले सञ्चारमाध्यम सञ्चालन गरी गाउँगाउँसम्म विकासका खबर पु¥याउनुपर्ने विचार राख्नुभयो । सो अवसरमा नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेल, पे्रस काउन्सिलका सदस्य ईश्वरी ओझा, काभ्रेपलाञ्चोक काङ्गे्रसका सभापति मधुप्रसाद आचार्य, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, बेथानचोक गाउँपालिकाका अध्यक्ष गोपाल तिमल्सिनालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । –रासस