काठमाडौैं । अवस्था गम्भीर भएपछि अस्पताल मृत्यु शय्यामा छट्पटाइरहेका प्रदीप गिरिलाई भेट्न कांग्रेसका नेता÷कार्यकर्ताको ताँती लागेको थियो । तर, करिब एक साताअघिबाट भने उनी अचेत भएका थिए। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गिरीलाई अस्पतालमा भेटे पनि दोहोरो संवाद गर्न पाएनन् । देउवा पुग्दा गिरी होसमै भए पनि बोल्न सक्ने हालतमा थिएनन् । भेटमा देउवाले ‘जसरी पनि हजुर ठीक हुनुपर्छ, पार्लियामेन्ट जानुपर्छ’ भन्दै हौसला दिने प्रयास गरेका थिए । गिरीले देउवातिर हेरेर केही बोल्न खोजे । तर, उनको मुखबाट ‘पा पा पा पा‘’ मात्रै निस्कियो ।
त्यसको केहीदिन अघि भेट्नको लागि अस्पतालमै पुगेका गगन थापासँग भने गिरीले केहीबेर राम्रैसँग बातचित गरेका थिए । भेटको क्रममा गिरीले गगनलाई चुनावपछि प्रधानमन्त्री बन्न आशीर्वाद दिएका थिए । युवाहरु अघि आउनुपर्छ भन्ने पक्षमा रहेका गिरी चुनावपछि प्रधानमन्त्रीमा दाबी गर्ने गगनको घोषणाप्रति सकारात्मक थिए । भेटमा सहभागी गिरीका सहयोगीका अनुसार उनले गगनसँग भनेका थिए ‘तपाईंको प्रधानमन्त्री बन्ने उद्देश्यमा मेरो समर्थन छ । आफ्नो अभियानमा अडिक रहनुस् । सत्यतथ्यलाई बोकेर हिँड्नुस् । युवाको पक्षमा बोल्नुस् । पार्टीलाई बलियो बनाउनुस् । त्यसो त प्रखर वक्ता एवं वैचारिक नेता गिरी गगन थापालाई काँग्रेसका अन्य नेतालाई भन्दा धेरै माया गर्थे । गगनसँगै विमलेन्द्र निधि, पूर्णबहादुर खड्का आदिलाई पनि माया गर्ने गरे पनि गिरिले भविष्य भने गगनमा देखेका थिए । एकपटक गिरिले निधिलाई पनि प्रधानमन्त्रीमा उम्मेदवारी दिन हौस्याएका थिए । तर निधिको धरातल त्यति बलियो नभएकोले उनले गिरीको उद्देश्य पूरा गर्न सकेनन् । तर गगनमा भने उनले सम्भावना देखेका थिए । उनले यही चुनाव लगत्तै बन्ने सरकार गगनको नेतृत्वमा बनोस् भन्ने शुभेक्षा दिएका थिए ।
सांसद बनेपछि यो आशीर्वाद दिन गिरी अहिले हाम्रो साथमा छैनन् । तर गिरीले जस्तै धेरै अग्रजहरुले अहिले गगनलाई प्रधानमन्त्री बन्नको लागि सुझाव दिने गरेका छन् । उनीहरुले अब बन्ने सरकार नै गगनको नेतृत्वमा बनोस् भन्ने चाहेका छन् । तर यसमा संसदीय दलको नेतामा चुनाव जितेपछि मात्रै प्रधानमन्त्री बन्न पाइने भन्दै अझै पनि एउटा संघर्ष पूरा गर्नुपर्ने अवस्था रहेको भन्दै आशीर्वाद लिएर अघि बढ्ने गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचित भएका नेपाली काँग्रेसका महामन्त्री गगन थापा यतिबेला मतदातालाई धन्यवाद ज्ञापन गर्दै बधाईको ठाउँमा प्रधानमन्त्री बन्ने आशीर्वाद लिने गरेका छन् । काठमाडौं महानगरपालिकाका ४ र बुढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा समेटेर बनेको यो क्षेत्रमा गगनले प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका नेता डा। राजन भट्टराईलाई ७ हजारभन्दा धेरै मतान्तरले चुनाव हराएका गगन अहिले सांसद निर्वाचन गराएकोमा धन्यवाद दिँदै घरदैलोमा छन् । उनको यो कार्यक्रम १९ मंसिरसम्म चल्ने उनको सचिवालयले जनाएको छ । संसदीय चुनावमा घरदैलो गर्दैजाँदा अधिकांश घरबाट प्रधानमन्त्री बन्न सुझाव र आशीर्वाद पाएका गगनले यसपालि धन्यवाद ज्ञापन कार्यक्रममा पनि ज्येष्ठ नागरिकसँग प्रधानमन्त्री बन्ने आशीर्वाद मात्रै पाउने गरेका छन् । काँग्रेस संसदीय दलमा चुनाव लड्ने उद्घोष गरिसकेका उनले सांसदहरुलाई आफ्नो एजेण्डा बताएर कन्भिन्स गर्नेदेखि ज्येष्ठनागरिकसँग आशीर्वाद लिनेसम्मका काममा गगन व्यस्त रहेका छन् ।