सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर

प्रकाशित मिति:

वासिङटन – सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको अमेरिकी सैनिक अधिकारीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै उक्त आदेशमा हस्ताक्षर भएको हो। गृहयुद्धबाट तहसनहस भएको सिरियाबाट एकाएक अमेरिकी फौज फिर्ता लैजाने अमेरिकी राष्ट्रपतिको घोषणाले विश्वभर अमेरिकी साझेदार मुलुकहरु र अमेरिकी राजनीतिक नेतालाई नै अचम्मित बनाएको थियो। सिरियामा संघर्षरत इस्लामिक स्टेट (आइएस) का लडाकुविरुद्धको कारबाहीका लागि बहुराष्ट्रिय सेनासँगै करिब दुई हजार अमेरिकी सेना सिरियामा तैनाथ छ। अमेरिकी सैनिक फिर्तीको आदेशको विस्तृत विवरण भने दिइएको छैन। टर्कीले सिरियाबाट अमेरिकी फौज फिर्ता हुने विषयलाई स्वागत गरेको छ। टर्की र अमेरिकाबीचको सहमतिपछि आइएसविरुद्ध अमेरिकी सेनालाई सघाएका कुर्दिस लडाकुमाथि कारबाही गर्न टर्कीलाई छुट प्राप्त हुने बताइएको छ। कुर्दिस लडाकुलाई अमेरिकाले मित्र शक्ति माने पनि टर्कीले आतंककारीको रूपमा लिने गरेको छ।

टर्कीको राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको वक्तव्यमा दुई देशका राष्ट्रपतिबीच भएको टेलिफोन वार्तामा दुवै मुलुकले सैनिक, कूटनीतिक तथा शक्तिको रिक्ततालाई हटाउन समन्वयात्यक रूपमा कार्य गर्न सहमति भएको उल्लेख छ। उक्त वक्तव्य आउनुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले समेत ट्विट गरी दुवै देशले आगामी दिनमा गर्नुपर्ने सहकार्यका बारेमा रचनात्मक छलफल भएको उल्लेख गरेका थिए। कुर्दिस मामिलासम्बन्धी विश्लेषक मुट्लु सिभिरोग्लुले यो सम्झौतापछि कुर्दिसमाथि हमला गर्न टर्कीलाई बाटो खुलेको बताउँदै फेरि रक्तपातपूर्ण युद्ध सुरु हुनसक्ने बताए। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्राेंले ट्रम्पको निर्णयबाट आफू दुःखी भएको बताएका छन्।