८ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशत पुर्याएपछि व्यवसायीद्धारा सडक आन्दोलन
नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध प्रदर्शन गरेको छ । सोमवार काठमाडौंको माईतीघर मण्डलामा महासंघले बैंकको चर्को ब्याजदर र आतंक गरेको भन्दै सरकारबिरुद्ध प्रदर्शन गरेको हो ।बिरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ, नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माईतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको तथा बैंक तथा वित्तीय संस्थाहरुले आतंक फैल्याउँदा व्यवसायीहरु पीडित भएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको व्यवसायीहरुले बताए ।
महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरुलाई ३५ दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न माग गर्दै सडक आन्दोलन गरिएको बताए । उनले दुई वर्ष अगाडि ८ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पुर्याएकाले व्यवसायीहरु मर्कामा परेको बताए । उनले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अपमान गरेको बताए ।उनले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी व्यवसायी माथि राज्य र बैंकहरुले अवहेलना गरेकाले आन्दोलन गर्नुपरेको बताए । उनले बैंकको चर्को ब्याजदर, कालोसूची र धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित भएकाले राज्यले बैंक ब्याजदर, कालोसूची र धितोलिलामी जस्ता काम रोक्नुपर्ने बताए । उनले बैंकहरुले कर्जा तिर्नको लागि समय माग गर्दा समेत नदिएको बताए ।
अध्यक्ष कार्कीले बैंकहरुले धितोलिलामी गरेर हजारौं व्यवसायीहरुलाई सुकुम्वासी बनाउन खोजेको अरोप लगाए । उनले महासंघले उठाएका माग सम्बोधन नभए चरणवद्ध रुपमा आन्दोलन गर्ने बताए । उनले महासंघले लामो समयदेखि व्यवसायीहरुको माग सम्बोधन गर्नको लागि सबैसँग पहल गर्दा पनि नहुने देखिएपछि सरकारको आँखा खोल्न सडक आन्दोलनमा आएको बताए ।त्यस्तै, महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले सरकारलाई लामो समयदेखि आफ्ना माग सम्बोधन नभए सडक आन्दोलन गर्ने जानकारी गराउँदा समेत व्यवसायीहरुका माग पूरा नगरेकाले बाध्य भएर सडकमा आएको बताए । उनले बैंकहरुले ब्याजदर बढाएर आंतक मच्याएकाले बैंकको आंतक रोक्नुपर्ने माग राखेर आन्दोलन गरिएको बताए ।उनले व्यवसायीहरुको लागि वैज्ञानिक भाडादर लागू हुनुपर्ने बताए । उनले व्यवसायीहरुले उठाएका मागहरु सरकारले तत्काल सम्बोधन नगरे मुलुकभरका उद्योगी व्यवसायीहरु वृहत आन्दोलनमा उत्रने बताए । उनले बैंकको आंतक बढ्दै गएमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले उद्योग व्यवसायीको चाबी सरकार र राष्ट्र बैंकलाई बुझाउने बताए । उनले सरकारले उद्योगी व्यवसायीहरुलाई समेत राहदानी बनाएर विदेश पठाउने नीति लिएको आरोप लगाए । उनले सरकारको व्यवसायीमैत्री नीति नहुनु र बैंकहरुको आंतकको कारण व्यवसायीहरुले आत्महत्या र आत्मदाह गर्न समेत बाध्य बनाएको बताए ।
त्यस्तै, महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंक र व्यवसायीहरुबीच साथीको सम्बन्ध हुनुपर्ने भएपनि गुण्डागर्दीको सम्बन्ध बनाउन खोजेको आरोप बताए । उनले बैंकहरुले २० करोडको धितोलाई १० करोडमा लिलाम गर्ने प्रवृति लिएको बताए । खड्काले घरजग्गा बैंकहरुलाई जिम्मा लगाउनको लागि व्यवसायीहरुले व्यापार व्यवसाय नगरेको बताए । उनले बैंकहरुले असहज अवस्थामा सहजिकरण गर्नुपर्नेमा उल्टो ब्याजदर उच्च बनाएर पीडित बनाएको बताए । त्यस्तै राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले बैंकको उच्च ब्याजदरको कारण व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको बताए । उनले बैंकको चर्को ब्याजदर सरकारले नियन्त्रण गर्न आवश्यक रहेको बताए ।सडक आन्दोलनमा व्यवसायीले बैंकिङ आतङ्क बन्द गर, बैंक सधैँ नाफामा उद्योगी, व्यवसायी घाटामा !, गरिखाने मर्दैछ, सरकारको राजश्व घट्दै छ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ, ब्याजदर घटाउ गरिखान देउ, उद्योग व्यापार बचाऔँ राष्ट्रिय अर्थतन्त्र उठाऔँ, स्व. प्रेम आचार्यका माग सम्बोधन गर, व्यवसायिक वातावरण कायम गर, सम्पूर्ण उद्योगीव्यवसायी एक हौँ, उद्योगी, व्यवसायी आत्महत्या गर्न बाध्य नपार, सहज व्यवसायिक वातावरण कायम गर लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।