विदा नै नदिए पर्व खल्लो हुने सरोकारवालाको गुनासो

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल ,स्याङ्जा—गुरुङहरुको महान पर्व ल्होसार पर्व नजिकिदै गर्दा स्याङ्जाका गुरुङ् समुदाय आक्रोशित हुन थालेका छन् । विविध कार्यक्रम सहित ल्होसार पर्व मनाउन लागेका स्याङ्जाका गुरुङ समुदायहरु सरकारले अन्याय गरेको भन्दै आक्रोशित हुन थालेका हुन् । कुकुर वर्गको विदाई र मृग वर्गको स्वागत गर्ने ल्होसार पर्वको अवसर पारेर आयोजना गरिएको शुभकामना आदान प्रदान तथा सरकारले विदा कटौति गरेको बिषयमा आयोजित पत्रकार सम्मेलनमा गुरुङ समुदायहरु निकै खिन्न देखिएका छन् । विगतका सरकारले दिदै आएको पुष १५ गतेको ल्होसार पर्वको विदा सरकारले कटौति  गरेपछि स्याङ्जाका गुरुङ् समुदायले यो पर्व खल्लो भएको महशुष गरेका छन् । शुभकामना आदान प्रदान तथा पत्रकार सम्मेलनमा वोल्दै तमु ह्रयुला छोज धी गुरुङ् राष्ट्रिय परिषदमा उपाध्यक्ष लेप्टेन यामबहादुर गुरुङ्ले ल्होसार पर्वको विदा कटौति गरेर गुरुङ् समुदायलाई अन्याय गरेको आरोप लगाए । पटक पटक सरकारलाई विदा कटौति फिर्ता लिन आग्रह गर्दा पनि सरकार कान नसुन्ने र आँखा नदेख्ने भएको संज्ञा गुरुङ्ले दिए । दुई तिहाई सरकारले दम्भ देखाएको छ उपाध्यक्ष गुरुङ्ले भने,“हाम्रा मागलाई सरकारले वेवस्था गरेमा चर्को आन्दोलन गर्न बाध्य हुनेछौं ।” सबै जातजाती मिलेर बनेको नेपाल र नेपाली जनताको सदभाव विथोल्ने काम वर्तमान सरकारले गरेको छ गुरुङ्ले भने ।
हरेक जातजातीको आफ्नै संस्कार र धर्म छ उपाध्यक्ष गुरुङ्ले भने,“आफ्नो धर्म र संस्कारलाई बाधा पुग्ने काममा सरकारले अग्रसरता देखायो ।” जनताको मन जितेर बनेको सरकारले जनताको मन जित्नु भन्दा जनतालाई चोट दिन थालेको आरोप गुरुङ्को छ । आफ्नो हक अधिकारका लागि सबै गुरुङ समुदाय एक हुने बेला आएको उनले बताए । मुलुकका हरेक परिवर्तनमा गुरुङ समुदायको पनि महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्दै गुरुङ्ले संघियतामा मुलुक गएपछि हाम्रो समुदायलाई गरेको अन्याय उपहार भएको आरोप लगाए । हामीले छुट्टै राज्य मागेका हैनौ उपाध्यक्ष गुरुङ्ले भने,“हरेक बर्षमा एक चोटी मनाउने गुरुङ समुदायको पर्वको बदा कटौति नगरियोस भन्ने माग हाम्रो हो ।” गुरुङ् समुदायको बिदाको कटौतिको मात्रैमाग हाम्रो नभएर सबै जातजातीले मनाउने पर्वको बिदा फिर्ता गर्न सरकारलाई गुरुङ्ले आग्रह गरे । गैह्र गुरुङ समुदायले पनि हामीलाई सहयोग गर्न आग्रह गरे । पर्व मनाउदै माग पुरा नभए सम्म आन्दोलन जारी रहने परिषदले जनाएको छ । कार्यक्रममा जिल्लाका ईकाई अध्यक्षहरुभोजराज गुरुङ्, भगवतसिंह गुरुङ्, यामबहादुर गुरुङ्, हुमबहादुर गुरुङ, हुमबहादुर गुरुङ्, तिलबहादुर गुरुङ्, कौशिला गुरुङ र वालिङ बहुमुखी क्याम्पसका प्रमुख सचिदानन्द यादव लगायतले सरकार जनताप्रति र सबै जातजाती प्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका थिए । जिल्ला अध्यक्ष रवि गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सोमबहादुर गुरुङ र महासचिव टिकराज गुरुङ्ले संचालन गरेका थिए । जिल्ला भरका गुरुङ समुदायको सहभागी सहित विविध सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।