लोकतान्त्रिक प्रणालीमा विकास हुन समय लाग्ने : पुष्पकमल दाहाल

प्रकाशित मिति:

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लोकतान्त्रिक प्रणालीमा विकास हुन समय लाग्ने बताएका छन्। बुधवारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै अध्यक्ष दाहालले लोकतान्त्रिक प्रणालीमा विकास छिटो छिटो नहुने बताए। सरकारले विकासको कामलाई जुन तीव्रताका साथ गर्नुपर्ने हो त्यो गरेको छैन्’ उनले भने, ‘कम्युनिस्ट प्रणाली भएको भए छिटो छिटो निर्णय गर्न सकिन्थ्यो। लोकतान्त्रिक प्रणालीमा विकास छिटो हुँदैन। निर्णयमै अल्मिलिन्छौं। १ महिना लाग्ने काम १५ महिना लाग्छ।’

आफूहरुले लोकतान्त्रिक प्रणालीभन्दा बाहिर समृद्धिको परिकल्पना नगरेको भन्दै अध्यक्ष दाहालले लोकतन्त्र, राष्ट्रिय एकताप्रति आफूहरु सम्वेदनशील रहेको स्पष्ट पारे। भर्खरै नेकपाको स्थायी कमिटी बैठक र नेपाली कांग्रेसको महासमिति बैठक बसेको स्मरण गर्दै उनले दुइटै बैठकको साझा एजेण्डा संविधान कार्यान्वयन, विकास र समृद्धिको यात्रा रहेको र यसले सत्ता र प्रतिपक्ष एकै ठाउँमा छौं भन्ने देखिएको बताए।