भैरहवा, फागुन । संयुक्त अरब इमिरेट्स (दुबई) को अबुधाबीमा ‘ग्लोबल समिट अफ वुमन’ कार्यक्रम (सम्मेलन) सम्पन्न भएको छ । फेब्रुअरी २१ देखि २३ तारिखसम्म भएको ग्लोबल समिट फर वुमन लिडर्स तथा एजुकेटर्स विथआउट बोडर्स इन्टरनेशनलद्वारा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै प्रमुख वक्ताको रूपमा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापा सहभागी भएकी थिइन् ।
संयुक्त अरब इमिरेट्सकी महारानी शेख फातिमा बिन्त मुबारक, राष्ट्रकी आमा, जनरल वुमेन्स युनियनकी अध्यक्ष, परिवार विकास प्रतिष्ठानका सर्वोच्च र संयुक्त अरब इमिरेट्सको विश्व समुदाय परिषद्की अध्यक्षको निमन्त्रणामा दुबई गएको थापाले जानकारी दिइन् ।राष्ट्रिय प्रकृति संरक्षण कोषको सञ्चालक समिति सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्य समेत रहेकी थापाले शिक्षासम्बन्धी स्थिति, अवसर र चुनौतीका बारेमा प्रस्तुती गरेकी थिइन् । त्यस्तै उनले पिछडिएको समुदाय, परिवार, बालबालिकाको उत्थानका बारे र सामूदायिक विद्यालय र मदरसाका बारेमा प्रष्ट पारेकी थिइन् ।
महिलाको विश्वव्यापी शिखर सम्मेलन र ईडब्लुबीआईद्वारा अन्तर्राष्ट्रिय सम्मेलनले संसारभरका विशेषज्ञहरूसँग जोड्ने, सहकार्य गर्ने, ज्ञान र क्षमताहरू विस्तार गर्ने र त्यसपछि तिनीहरूलाई आफ्नै समुदायहरूमा ज्ञानको प्रयोग गर्ने मौका दिने थापाले बताइन् । उनले भनिन्, ‘म दृढतापूर्वक विश्वास गर्छु कि राजनीतिक, आर्थिक र सामाजिक उन्नति नै महिला सशक्तिकरणको एक मात्र तरिका हो र यी सबै लक्ष्यहरू प्राप्त गर्न विश्वव्यापी नेटवर्कहरू आवश्यक छन् । म यस महत्वपूर्ण भेलाको एक हिस्सा हुन पाउँदा र शिक्षाविद्, सामाजिक कार्यकर्ता, व्यवसायी महिला, विकासकर्ता र सामाजिक र राजनीतिक क्षेत्रका नेताहरू लगायत उल्लेखनीय महिला नेताहरूसँग अन्तरक्रिया गर्न पाउँदा उत्साहित छु । हामीलाई प्रेरित गर्ने विश्वभरका महिला नेताहरूको कथा र अनुभवहरू अरू सबै कुराको शीर्षकमा अझ आकर्षक थिए ।’
गत सेप्टेम्बर, २०२२ मा प्रतिमान–नीमा स्मृति प्रष्ठिान र एजुकेटर्स विथआउट बोडर्स इन्टरनेशनलबीच दुई वर्षसम्म सहकार्य गर्दै अघि बढ्ने सम्झौतापत्रमा हस्तास्तर भएके थियो ।
दुई संस्थाबीच शिक्षक र सामाजिक कार्यकर्ता, विभिन्न पेशामा आबद्ध व्यक्ति, प्रशासकलाई तालिम, कम भाग्यशाली समुदायहरूमा शिक्षाको गुणस्तर सुधार गर्न विश्वविद्यालय र प्राध्यापकहरूबीच स्वैच्छिकताको संस्कृतिलाई प्रवर्द्धन गर्ने, विद्यार्थीहरूको अन्तर्राष्ट्रिय आदानप्रदान, सेमिनार, सम्मेलन, व्याख्यान साथै कार्यशाला र तालिम कार्यक्रमहरू आयोजना गर्ने र संयुक्त अनुसन्धान र वैज्ञानिक परियोजनाहरू सञ्चालन गर्ने र अनुसन्धान र कार्यपत्रहरू आदानप्रदान गर्ने सम्झौता भएको थियो ।प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आगामी दिनमा शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने जनाएको छ ।