दूरसञ्चार प्राधिकरणबाट बाहिरिए झा, प्रधानमन्त्री र संचारमन्त्रीलाई सहयोग गर्न राजिनामा दिएको धारणा

यसअघि सरकारले पदबाट हटाएपछि सर्वोच्च गुहारेका झालाई सरकारले आफैँ पुनर्नियुक्ति गरेको थियो।

प्रकाशित मिति:

काठमाडौँ पौष ११/ 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफ्नो पदबाट राजिनामा दिएका छन्। नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको जिज्ञासामा यो जानकारी गराएका हुन्। अध्यक्ष झाले राजीनामा दिएको एक मन्त्रीले पनि पुष्टि गरे। यसअघि सरकारले पदबाट हटाएपछि सर्वोच्च गुहारेका झालाई सरकारले आफैँ पुनर्नियुक्ति गरेको थियो।

यसअघि नेकपा स्थायी समिति बैठकमा लेखराज भट्टले अध्यक्ष झाले आफैँलाई घुस बुझाउन आएको भन्दै प्रश्न उठाएका थिए। बुधबारको संसदीय दलको बैठकमा पनि अध्यक्ष झाबारे प्रश्न उठेको थियो। यही क्रममा प्रधानमन्त्रीले उनले राजीनामा बुझाइसकेको जानकारी सांसदहरुलाई गराएका थिए।

कुनै समय ओली सरकारले पदच्युत गरेका झाले यस पटक राजिनामा दिादा भने प्रधानमन्त्री ओलीले झाको राजिनामा बिडम्बना भएको बताए। उनले भने उनी योग्य व्यक्ति हुन्, भ्रष्टाचारी होइनन् ,चर्चित व्यक्ति हुन्, आफ्नो बदनामी भयो भनेर आफैँ राजिनामा बुझाउन आएका हुन्,। संचारकर्मीहरुसँगको कुराकानीमा झा आफैले प्रधानमन्त्री र संचारमन्त्रीलाई सहज गराउनको लागि आफुले राजिनामा दिएको बताएका छन् । झाको पुनर्नियुक्तिमा नेकपाका रामकुमारी झाक्रीलगायत ४३ सांसदहरुले विवादास्पद व्यक्तिलाई जिम्मेवारी दिएको भन्दै आपत्तिसमेत जनाएका थिए।