चापपानी स्वास्थ्य चौकीले ल्याव सेवा सञ्चालन गरेसंगै स्थानीय हर्षित

प्रकाशित मिति:

पाल्पाको वगनाशकाली गाउँपालिका–९, मा चापपानी स्वास्थ्य चौकीले ल्याव सेवा सञ्चालन गरेसंगै यहाँका स्थानीय राहत महशुस गरेका छन् । वगनाशकाली गाउँपालिकाका स्थानीयलाई ल्याव सेवाका लागि सदरमुकाम तानसेन जानुपर्ने समस्या हटेको छ । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले ल्याबको उद्घाटन गर्दै विपन्न जनतालाई ध्यानमा राखेर गाउँपालिकाले स्वास्थ्य सेवाको तथा पहुँचमा विस्तार गरेको बताए । गाउँमा जनतालाई स्वरोजगार बनाउने किसिमका कार्यक्रमहरु राखिएका छन् । झण्डै डेढ बर्ष बित्यो । अझ जनताको अपेक्षा अनुसार काम गर्न सकिएको छैन । संघले विकेन्द्रीकरण नीति अनुसारको अधिकार गाउँमा दिईरहेको छैन ।
वडा नं. ९ का वडाध्यक्ष ठानेश्वर तिमिल्सिनाले स्वास्थ्य जनताको संवेदनशील विषय भएकोले आफूहरुले ल्याव सेवा सञ्चालन गरेको बताए । ल्याब स्थापना भएसँगै रगत, दिशा, पिसाब, सुगर, एचआईभी, कोलेस्ट्रोल, वीडल, गर्भपरिक्षण, जण्डिस, ईएसआई लगायतको जाँच गाउँमै हुने भएको हो । जिल्ला सरकारी अस्पतालका ल्याब सुपरभाइजर मधु भटराईले पहिले सदरमुकाम जान बिहानैदेखि तयार हुनु पर्ने, समयमै नपुगेपछि चेकजाँच नहुने, खर्च महंगो लाग्ने समस्याबाट जनतालाई सहजता दिलाउने बताए । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले निश्चित जाँचहरुमा थोरै शुल्क र सरकारले तोकेको सेवामा निशुल्क परिक्षणको व्यवस्था मिलाईएको बताए ।