मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न गण्डकी कांग्रेसको आग्रह

प्रकाशित मिति:

पोखरा, चैत  : नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा दिन आग्रह गरेको छ। कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आज (शनिबार) पत्रकार सम्मेलन गरी मुख्यमन्त्री अधिकारीलाई नयाँ सरकार निर्माणका निम्ति मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्। शुक्रबार मात्र माओवादी केन्द्रले एमाले नेतृत्वको सरकार छाडेर समर्थन पनि फिर्ता लिएको थियो। माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा प्रदेश सरकार अल्पमतमा परेको र मुख्यमन्त्री अधिकारीले बहुमत जुटाउने सम्भावना पनि नरहेको पाण्डेको भनाइ थियो।

‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने र कर्मचारी नियुक्ति तथा सरुवा, बढुवालगायतको काम गर्नु न्यायसंगत मानिँदैन।’कामचलाउ सरकारले गरेका निर्णयबारे अब बन्ने सरकारले आर्थिक दायित्व वहन नगर्ने पनि पाण्डेले बताएका छन्। उनले कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्नसमेत सरकारको ध्यानाकर्षण गराए।आज हामी नेपाली राजनीतिको फरक दृष्यमा प्रवेश गरेका छौं। निर्वाचनका बेलामा राजनीतिक दलहरुबीच भएका तालमेल, त्यसपछि बनेको सरकारमा भएको समीकरण, झन्डै दुई महिनापछि पुनः अर्को गठबन्धन हुँदै देशको राजनीति पुनः सही लिकमा प्रवेश गरेको छ,’ उनले भने, ‘राजनीतिको मर्म र भावनाअनुसार नै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएपछि सरकार अल्पमतमा परिसकेको छ। बहुमत गुमाइसकेर अल्पमतमा परेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न म सरकारको ध्यानाकर्षण गराउँदछु।’

गण्डकीमा संघमा सात दलीय गठबन्धन रहेका बेला एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका थिए। तर राष्ट्रपति निर्वाचनका राष्ट्रिय सहमतिको विषय पेचिलो बन्दा त्यतिबेलाको गठबन्धन भत्किएर कांग्रेस, माओवादीलगायत दलको नयाँ गठबन्धन बनेपछि त्यसको तरंग प्रदेश सरकारमा पनि परेको हाे। अल्पमतमा परे पनि एमालेले सरकारबाट बाहिरिने कुनै संकेत गरेको छैन।गण्डकीमा कांग्रेस, माओवादीसहितकाे गठबन्धनले सरकार बनाउँदा कांग्रेस संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीको प्रबल दाबेदार रहेका पाण्डेले अब प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने भन्दै आएका छन्।