पश्चिम नेपाल बस प्रालीको तेश्रो साधारण सभा- मुलुकको खस्कँदो अर्थतन्त्र उकास्न साझा प्रयत्न जरुरी : नेताहरु

प्रकाशित मिति:

हरिश ढकाल-बुटवल,  चैत । मुलुकमा ब्याप्त आर्थिक मन्दी र संभावित बित्तिय संकट समाधान गर्न सबैको साझा प्रयास आवश्यक रहेको प्रमुख दलका नेताहरुले बताएका छन् । केही समय यता उद्योग ब्यबसाय क्षेत्रमा देखा परेको आर्थिक संकट र बित्तिय क्षेत्रमा उत्पन्न तरलता अभाव जस्ता समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाटै साझा निष्कर्ष निकाल्नु पर्ने नेकपा एमाले र नेपाली काँग्रेसका प्रभावशाली नेताहरुले बताएका छन् ।

राजश्व संकलनका हिसावले बिगत ५० बर्ष यताकै सबैभन्दा निराशाजनक अवस्था रहेको उल्लेख गर्दै प्रमुख दलका प्रभावशाली नेताहरुले बजेटको साधारण खर्चसमेत धान्न नसक्ने अवस्था सिर्जना हुने संभावना रहेको बताउनु भएको छ । बुटवलमा आयोजित पश्चिम नेपाल बस ब्यबसायी प्रालीको कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको संकटउन्मुख आर्थिक अवस्थालाई जिम्मेवार दलहरुले साझा धारणा बनाएर समाधान गर्नुपर्ने बताउनु भयो । बिसं २०२८ सालमा यस्तै प्रकारको आर्थिक संकट परेको स्मरण गर्दै नेता पौडेलले निजि क्षेत्रको पुनःउत्थानका लागि आफु सँधै प्रयत्नशिल रहने बताउनु भयो ।नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृहमन्त्री बालकृष्ण खाणले मुलुकको आर्थिक समस्या समाधानका लागि सरकार, प्रतिपक्ष दल र निजि क्षेत्रको सामुहिक रुपमा सहकार्य, समन्वय र साझा प्रयत्न हुनुपर्ने धारणा ब्यक्त गर्नु भयो । पश्चिम नेपाल बस ब्यबसायी प्रालीको तेश्रो र पश्चिम नेपाल यातायात सहकारीको दोश्रो साधारण सभामा बोल्दै नेता खाणले ब्यबस्था बदलेर मात्र हुदैन अवस्था बदल्नु पर्यो भन्दै अव सबै मिलेर मुलुकको अवस्था बदल्ने अभियान संचालन गर्नुपर्नेमा जोड दिनु भयो ।

नेपाल यातायात ब्यबसायी महासंघका अध्यक्ष बिजय स्वांरले केहीबर्ष यता यातायात क्षेत्र सबैभन्दा बढि संकटग्रस्त बन्दै गैरहेको उल्लेख गर्दै यातायात क्षेत्रका समस्या समाधानमा सरकारले चासो देखाउनु पर्ने बिचार ब्यक्त गर्नु भएको थियो । नेपालमा यातायात क्षेत्रमा १० अरव भन्दा बढि लगानी रहेको जानकारी गराउदै यातायात महासंघका केन्द्रिय अध्यक्ष स्वांरले आर्थिक संकटका कारण ११ लाख जनाको रोजगारी पनि संकटमा परेको भन्दै तत्काल समस्या समाधानका उपाय अपनाउन आग्रह समेत गर्नुभयो ।पश्चिम नेपाल बस ब्यबसायी प्राली र पश्चिम नेपाल यातायात सहकारीका अध्यक्ष दधिराम खरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे, नेकपा माके रुपन्देही संयोजक निर्मल जिसि, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, संघका पुर्व अध्यक्ष चोप नारायण श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, पश्चिमान्चल ट्रक समितिका अध्यक्ष यामप्रसाद पाण्डे, भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, आयोजक समितिका उपाध्यक्ष जिवन बन्जाडे, प्रबन्ध संचालक रामचन्द्र भुसाल लगाएतले यातायात ब्यबसायीहरुका समस्या र समाधानका उपायहरु बारे चर्चा गरेका थिए ।करिब २५ सय बस ब्यबसायीहरु आवद्ध रहेको साविकको पश्चिम नेपाल बस ब्यबसायी संघको संरक्षकत्वमा स्थापना भएको पश्चिम नेपाल यातायात सहकारी संस्थामा हालसम्म १५ सयभन्दा बढि सदस्यहरु रहेको अध्यक्ष खरेलले बताउनु भयो ।